काठमाण्डौ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच चार वर्षदेखिको विवाद सुल्झियो

 माघ ४, २०८१ शुक्रबार १८:१०:४ | रासस
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – काठमाण्डौ विश्वविद्यालय (केयू) र धुलिखेल अस्पतालबीच चार वर्षदेखिको विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित समितिले केयू र धुलिखेल अस्पतालबीचको विवाद मिलाएको हो ।

विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितको प्रतिवेदन आज भएको विश्वविद्यालय सभाको ९८औं बैठकले स्वीकार गरेसँगै दुवै संस्थाको सम्बन्ध पूर्ववत् भएको हो । राष्ट्रिय योजना आयोगकी सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सात सदस्यीय समितिको प्रतिवेदनलाई केयूको सभाले पारित गरेसँगै विवाद सकिएको हो ।

आज सिंहदरबारमा बसेको सभाले केयू र धुलिखेलको पूर्ववत् सम्बन्ध यथावत् राख्ने निर्णय गरेको छ । समितिको प्रतिवेदन अनुसार तीन महिनाभित्र नयाँ सम्झौता हुने छ । यसको तयारीका लागि आयोगका सदस्य अधिकारी नै संयोजक रहेको समिति गठन भएको छ । समितिमा विश्वविद्यालयबाट प्रा. डा. ऋषिकेश वाग्ले र प्रा. डा. मनोज हुमागाईं तथा अस्पतालको तर्फबाट डा. विराजमान कर्माचार्य र प्रा. डा. राजीव श्रेष्ठ रहनुभएको छ । यो समितिले नयाँ सम्झौताको मस्यौदा प्रस्तुत गर्नेछ । नयाँ सम्झौता नभएसम्म कामकाज गर्न सम्बन्धित डीन र प्रशासकीय निर्देशक रहेको तीन सदस्यीय अन्तरिम सहजीकरण समिति गठन भएको छ ।

बैठकमा प्रधानमन्त्री एवम् कुलपति केपी शर्मा ओलीले दुवै संस्था आपसमा मिल्नु उचित भएकाले अलग हुने प्रस्ताव नल्याउन भन्नुभएको थियो । २०५९ चैत १९ गतेदेखि केयू र धुलिखेलबीच सहकार्य भएको थियो । तर ती संस्थाबीच पछिल्ला वर्ष बेमेल भएपछि गएको साउन ३० गतेको विश्वविद्यालय सभाको ९७औं बैठकको मार्गदर्शन अनुसार आपसी संवाद थालिएको थियो ।

उपकुलपति छनोटको कार्यविधिमा पुनर्विचार गर्न निर्देशन

यसैबीच बैठकले विश्वविद्यालयको नयाँ उपकुलपति चयनका लागि गठित खोज तथा सिफारिश समितिलाई चिकित्साशास्त्र सङ्कायमा कार्यरत वरिष्ठ शिक्षकहरूले समेत आवेदन गर्न पाउनेगरी कार्यविधिमा व्यवस्था गर्न निर्देशन दिएको छ ।

उपकुलपतिको आवेदनका लागि आह्वान भएको सूचनामा आफूहरूलाई आवेदन गर्नबाट वञ्चित गराइएको भनी चिकित्साशास्त्र सङ्कायका शिक्षकहरूले कुलपति एवम् प्रधानमन्त्री ओलीसमक्ष निवेदन दिएको विषयमा छलफलपछि बैठकले कार्यविधि पुनर्विचार गर्न निर्देशन दिएको हो । दुई कार्यकाल उपकुलपति भइसकेका व्यक्तिसमेत आवेदन दिन नपाउने तथा हरेक कार्यकालका लागि कार्यविधि संशोधन भइरहने स्थितिप्रति बैठकमा ध्यानाकर्षण भएको थियो ।

पूर्वउपकुलपति प्रा. डा. सुरेशराज शर्माको संयोजकत्वमा गठित खोज तथा सिफारिश समितिले चिकित्साशास्त्र सङ्कायका शिक्षकहरूलाई पनि समेट्न उम्मेदवार छनोटको कार्यविधि संशोधन गरेर पुनः सूचना जारी गर्ने भएको छ ।

अन्तिम अपडेट: माघ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया