नक्कली शरणार्थी प्रकरणमा थप एक पक्राउ, यसअघि पक्राउ परेकाहरुको अदालतमा बयान सुरु

 जेठ १३, २०८० शनिबार ७:१४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

प्रहरीका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी महर्जनलाई प्रहरीले हिजो नै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखेको छ ।

लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पालगायत १६ जना यसअघि नै पक्राउ परेका थिए । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका केही फरार छन् । 

यसैबीच काठमाण्डौ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा हिजोदेखि  बयान सुरू भएको हो । हिजो केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जाने अदालतले जनाएको छ ।

नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ । यो प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

अदालतमा अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि  धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ । उनीहरूविरुद्ध संगठित अपराध, ठगी, राज्यविरुद्धको अपराध र लिखत किर्ते कसुरको मागदाबी गरिएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया