सडक निर्माणमा लापरबाही गर्ने व्यवसायीसँग ललितपुर महानगरले सोध्यो स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी

 जेठ १४, २०८० आइतबार ८:१६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - ललितपुर महानगरपालिकाले सडक बनाउन ढिलाइ र लापरबाही गर्ने दुई वटा निर्माण व्यवसायीलाई स्पष्टीकरण सोधेको छ । महानगरले आज सार्वजनिक सूचना निकालेर बिरुवा कन्सट्रक्सन प्रालि काठमाण्डौ र सीएम–पवित्रा महर्जन जेभी ललितपुरलाई ७ दिनभित्र उपस्थित भइ स्पष्टीकरण दिन भनेको हो ।

महानगरपालिका र ती निर्माण व्यवसायीबीच विभिन्न सडकको कालोपत्र (स्तरोन्नति) गर्ने ठेक्का सम्झौता भएको थियो । सम्झौतापछि निर्माणको काम गर्न महानगरपालिकाले आवश्यक सबै समन्वय र सहजीकरण गरेको तर निर्माणको काम सन्तोषजनक नरहेको महानगरले जनाएको छ । यसअघि पनि पटक–पटक पत्राचार गरेर निर्धारित समयमा काम सम्पन्न गर्ने लिखित प्रतिबद्धता गराए पनि काममा प्रगति नदेखिएको सूचनामा उल्लेख छ ।

कार्यतालिका अनुसार काम नगरि अलपत्र परेका निर्माण व्यवसायीले प्रचलित कानुन एवं ठेक्का सम्झौता र आफ्नै प्रतिबद्धता उल्लङ्घन गरेको महानगरपालिकाले जनाएको छ । ठेक्का सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को उल्लङ्घन गरेकोमा सम्झौता रद्द गरी कालोसूचीमा राखेर किन कारबाही नगर्ने ? भनेर महानगरले स्पष्टीकरण सोधेको छ ।

तोकिएको समय ७ दिनभित्र उपस्थित भइ चित्तबुझ्दो आधार र कारण पेस नगरेमा सम्झौता रद्द गरी थप कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि महानगरले चेतावनी दिएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया