कीर्तिमानी आरोही हरि बुढामगर र कामीरिता शेर्पालाई सरकारको सम्मान

 जेठ १५, २०८० सोमबार १६:२८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सगरमाथा आरोहीहरू हरि बुढामगर र कामीरिता शेर्पालाई सम्मान गरेको छ ।

सगरमाथा दिवस (मे २९) का अवसरमा साेमवार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले बुढामगर र शेर्पालाई सम्मान गर्नुभएकाे हाे । रोल्पाका बुढामगर दुवै खुट्टा गुमाएका आरोही हुनुहुन्छ भने शेर्पाले २८ पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

यस्तै पर्यटन विभागले प्रदान गर्ने एक लाख रुपैयाँ राशीको सगरमाथा राष्ट्रिय पुरस्कार सङ्खुवासभाका आरोही सानु शेर्पालाई प्रदान गरेको छ । उहाँले आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमालको दोहोर्‍याएर आरोहण गर्नुभएको छ । यस्तै मन्त्रालयले यस वर्षको ५० हजार रुपैयाँ राशीको तेन्जिङ हिलारी पुरस्कार सोलुखुम्बुका आरोही पासाङ दावा शेर्पा र पासाङ ल्हामु शेर्पा अकिता तथा नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीलाई प्रदान गरिएको छ ।

यस वर्ष सगरमाथामा आरोहण सुरु भएको ७० वर्ष पूरा भएको छ । सन् १९५३ को मे २९ मा पहिलो पटक सगरमाथाको सफल आरोहण भएको थियो । नेपाल सरकारले गएकाे १६ वर्षदेखि मे २९ मा सगरमाथा दिवस मनाउँदै आएको छ । ७० वर्षको अवधिमा सात हजार आठ सय ५१ जना सगरमाथाको शिखरमा पुगेको तथ्याङ्क रहेको पर्यटन विभागले जनाएको छ । यस वर्ष इतिहासकै धेरै चार सय ७८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यस वर्षको आरोहण अन्तिम चरणमा पुगेको छ । मानिसको गतिविधि बढ्दै जाँदा हिमालमा समस्या बढिरहेको भन्दै कतिपयले सगरमाथा आरोहण अनुमति वितरणमा कडाइ गर्नुपर्ने बताउँदै आएका छन् ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया