विद्युत् विकास विभागको निर्देशन पछि लिखु–२ जलविद्युत् आयोजनाको सुरुङमा पानी पठाउन बन्द

 जेठ १५, २०८० सोमबार १६:२५:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विद्युत् विकास विभागको निर्देशनपछि लिखु–२ जलविद्युत् आयोजनाले सुरुङमा पानी पठाउन बन्द गरेको छ ।

परीक्षणका लागि झण्डै २० दिनअघि सुरुङमा पानी पठाएकोमा सुरुङको पानी चुहिएर बस्तीमा पसेपछि विभागले सुरुङमा पानी पठाउने काम बन्द गर्न निर्देशन दिए अनुसार आज बिहानदेखि पानी पठाउने काम बन्द गरेको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो ।

आयोजनाको सुरुङमा पठाएको पानी चुहिएर बस्तीमा पसेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाको पेकरनास र कोरेमका ४२ घरधुरी जोखिममा परेका छन् ।

पीडितहरुले आफूहरुलाई स्थानान्तरण गर्नुपर्ने माग गर्दै आयोजनाको कार्यालयमा तालाबन्दीसमेत गरेपछि प्रमुख जिल्ला अधिकारी निरौला सहितको टोलीले स्थलगत अवलाेकन गरेको थियो ।

आफूहरुले स्थलगत अध्ययन गर्दा बस्तीमा पानी पसेको र जोखिम उच्च भएको देखिएपछि गृह मन्त्रालय र उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई पत्र पठाएर सुरुङमा पानी पठाएर जाँच गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।

बस्ती उच्च जोखिममा रहेको पाइएकोले यसबारेमा थप छलफल गर्न भोलि जिल्ला विपद् व्यवस्थापन समिति रामेछापको बैठक बोलाएको र त्यहाँ थप छलफल गर्ने उहाँले बताउनुभयो ।

एम् भि दुगड कम्पनीले लिखुखोलामा निर्माण गरेको ५५ मेगावाट क्षमताको लिखुखोला–२ आयोजना निर्माण चरणको अन्तिममा पुगेको छ ।

सुरुवात देखि त्यहाँका जनतालाई विभिन्न कारण पीडित पार्दै आएको जलविद्युत् आयोजनाले पछिल्लो पटक बस्ती नै जोखिममा पारेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो ।

अध्यक्ष सुनुवारले उर्जा मन्त्री शक्ति बहादुर बस्नेतलाई भेटेर सुरुङको पानी चुहिएको विषय समाधान गरेर मात्रै आयोजनाको थप काम अघि बढाउन अनुरोध गर्नुभएको छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया