प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण आजदेखि

 जेठ १७, २०८० बुधबार ७:१०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चारदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे नेपाल वायुसेवा निगमको विमानमार्फत भारत जान लाग्नुभएको हो । प्रधानमन्त्रीको भ्रमण टोलीमा पाँच जना मन्त्रीसहित ९० जनाको टोली रहनेछ । 

भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड दिउँसो २:५० मा दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवरतरण गर्नुहुनेछ ।

भोलि बिहान १०:३० बजेदेखि प्रधानमन्त्रीको भेटवार्ता सुरु हुने छ । भोलि नै भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तालिका रहेको छ ।

प्रचण्ड र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुनेछ । त्यसलगत्तै दुई देशबीच विभिन्न विषयमा सम्झौता हुने तालिका रहेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा दीर्घकालीन उर्जा व्यापार, भारत हुँदै बंगलादेशमा विद्युत् व्यापार, प्रसारण लाइन, हवाई रुट, कृषिमा सहयोग लगायतका विषयमा सम्झौता र सहकार्यको तयारी भैरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

दुई देशबीच व्यापार, पारवहन, लगानी प्रवर्द्धन, सिँचाइ बाढी तथा डुबान नियन्त्रण, कृषि, हवाई प्रवेश मार्ग, सम्पर्क सञ्जाल निर्माण, पक्की पुल निर्माण तथा एकीकृत जाँचचौकी, आन्तरिक कन्टेनर डिपो पूर्वाधार निर्माण, सीमा समस्या लगायतको विषयमा छलफल गर्ने तयारी छ ।

भारत भ्रमणको बेला लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको नेपालको नक्सा र भारतले गएको आइतबार नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’को नक्साको बारेमा पनि कुरा उठाउन चौतर्फी दबाब बढेको छ ।

नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ । नेपाल सरकारले औपचारिक रुपमा यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया