पशुपतिनाथकाे जलहरी निर्माणबारे सत्य/तथ्य पत्ता लगाउन पहल गर्नुपर्ने संसदीय समितिकाे निष्कर्ष

 जेठ १७, २०८० बुधबार १६:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसदीय समितिले पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्य/तथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधवार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथ मन्दिरको जलहरी निर्माणको सम्बन्धमा सत्य/तथ्य पहिचानका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो । समितिले महालेखा परीक्षकको ५९ औँ प्रतिवेदनमा जलहरी बनाएर बाँकी रहेको सुनको १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको उल्लेख गरिए पनि बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने काममा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको भन्दै यस सम्बन्धमा महालेखा परीक्षकका पदाधिकारी र सरकारसँग छलफल गरी सत्य/तथ्य पहिचानका लागि पहल गर्नुपर्ने बताएको छ । 

त्यस्तै २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मन्दिर प्राङ्गणका विभिन्न संरचनाहरूको पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने जनाइएको छ । त्यसैगरी पशुपति क्षेत्र विकास कोषसँग भाडा सम्झौता गरी मारवाडी सेवा समितिले चलाइरहेको शटरहरूको नयाँ भाडादर कायम गर्नुपर्ने देखिएको भन्दै त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरी निष्कर्ष निकाल्नुपर्ने पनि समितिको सुझाव छ ।

समितिले २०७९ चैत २६ गते पशुपति क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । त्याे अनुगमनको क्रममा देखिएका समस्याहरूको समाधान गर्न समितिले विभिन्न सुझावहरू दिएको हो । समितिले श्लेषमान्तक वनमा मृत शरीर गाड्ने अवाञ्छित गतिविधि भइरहेको भन्दै उच्च सतर्कतासहितको सुरक्षा तथा निगरानी प्रणाली अवलम्बन गर्नुपर्ने उल्लेख गरेको छ । 

पशुपतिनाथ मन्दिर परिसरमा सरसफाइ सन्तोषजनक नदेखिएकाले यसतर्फ पनि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको समितिकी उपसचिव सरिता राना मगरले बताउनुभयो । पशुपतिनाथ मन्दिर परिसरभित्रका अन्य मन्दिरहरूको सुरक्षाका लागि व्यवस्थित सुरक्षा प्रणाली अपनाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया