तीव्र गतिमा गाडी हाँक्नेलाई निगरानी गर्न सडकमा स्मार्ट प्रविधि

 असार २७, २०८० बुधबार ९:११:४२ | वैद्यनाथ पाैडेल
unn.prixa.net

काठमाण्डौको कोटेश्वर चक्रपथमा टाउकोमा पहेंलो टोपी लगाएका केही प्राविधिकहरु दायाँबायाँ राखिएका दुई वटा भर्‍याङ चढेर काममा तल्लीन छन् । तलबाट इन्जिनियरलगायतको टिम उनीहरुको काम हेर्न र निर्देशन दिनमा व्यस्त छन् । 

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तीव्र गति नियन्त्रणका लागि ‘अटोमेटिक नम्बर प्लेट रिकग्निसन सिस्टम विथ डिटेक्स’ (एएनपीआर) जडान गर्दै गरेको दृष्य हो यो । यस उपकरणले तीव्र गतिमा हुँइकिरहेको गाडीको पहिचान गरी त्यसको अभिलेख ट्राफिक प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेका सर्भरमा पुर्‍याउँछ । 

भर्‍याङ चढेर काम गर्दै गरेका प्राविधिकलाई निर्देशन दिइरहनु भएको छ ई थ्री सेल्स एण्ड सर्भिसेजका प्रोजेक्ट सुपरभाइजर रञ्जित सिंह ।

उहाँका अनुसार अहिले चक्रपथका तीन स्थानमा ‘एएनपीर बेस्ड, राडार बेस्ड सिस्टम’ का क्यामरा जडान भएको छ । यसको काम भनेको सडकमा भएको गतिविधिलाई २४ सै घण्टा निगरानी गर्नु हो ।

उहाँ भन्नुहुन्छ, ‘तीव्र गति तथा दुर्घटना नियन्त्रणका लागि ट्राफिक प्रहरीका तर्फबाट यो सिस्टम जडान भएको हो । यसले अब ट्राफिक प्रहरीलाई २४ सै घण्टा सडकमा उभिनु पर्दैन । यसको सबै डाटा सर्भरमा रेकर्ड हुन्छ ।’

अहिले चक्रपथको कोटेश्वर, थसिखेल र धोबीघाट नयाँबाटोमा यो प्रणाली जडान गरिएको छ । थसिखेल र नयाँ दोबाटोमा जडान सम्पन्न भइसकेको छ । कोटेश्वरमा पनि जडान सम्पन्न भइसकेपछि अबको एकहप्ताभित्र यो प्रणाली सञ्चालनमा आउने ट्राफिक प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार अरु ठाउँमा पनि यो उपकरण जडान गर्ने तयारी छ ।

यो प्रणाली जडान गरिसकेपछि त्यस ठाउँमा गुड्ने गाडीका सबै जानकारी सबै ट्राफिक प्रहरीसँग हुन्छ । तीव्र गतिमा गाडी हुँइक्याएर दुर्घटना गरेर भाग्ने अर्थात् ‘हिट एण्ड रन’ का घटनाहरु धेरै भएका कारण त्यस्ता गाडीहरु पहिचान गर्न सकियोस् भनेर यो प्रणाली जडान गरिएको हो ।

सिंह भन्नुहुन्छ, ‘यहाँ हिट एण्ड रनका केसहरु धेरै आए । त्यसलाई न्यूनीकरण गर्नका लागि यो सिस्टम धेरै उपयोगी हुन्छ । हिट एण्ड रन गरेर कोही भाग्यो भने त्यसको नम्बर प्लेट र कुन स्पीडमा भाग्यो भन्ने पत्ता लगाउन सकिन्छ ।’

यो प्रणालीले पहिले गाडीको नम्बर पहिचान गरेर सर्भरमा पठाउँछ । सँगसँगै गाडी कुन गतिमा कुदिरहेको छ भन्ने पनि जानकारी गराउँछ । अहिले चक्रपथका तीन ठाउँमा जडान भएको प्रणालीले ५० किलोमिटर तथा त्यसभन्दा मुनिको गतिलाई सामान्य मानेको छ । त्यसभन्दा माथिको गतिमा गाडी कुदाएमा त्यसलाई तीव्र गति मानिनेछ र त्यसै अनुसार ट्राफिक प्रहरीले कारबाही गर्ने गर्छन् ।

सडक विभागले कोटेश्वरदेखि कलंकी चक्रपथ खण्ड तथा भक्तपुरको सडकमा ५० किलोमिटर प्रतिघण्टाको दुरीमा सवारी चलाउन पाइने तथा भित्री सडकको गति भने ३० किलोमिटर प्रतिघण्टा तोकेको छ ।

यो प्रणालीले तीव्र गति मात्र नियन्त्रण गर्ने नभइ गाडी तथा मोटरसाइकल चोरीका घटना नियन्त्रण गर्न पनि मद्दत गर्छ । कसैले मोटरसाइकल वा गाडी चोरी भयो भन्ने उजुरी गरेका खण्डमा त्यो नम्बर सर्भरमा हालेपछि त्यसको दुई मिनेटमा सबै सर्भरले एकै पटक काम गर्छ र खोज्न थाल्छ ।

अहिले ट्राफिक प्रहरीले तीव्र गति नियन्त्रणका लागि ‘राडार गन’को प्रयोग गर्दै आएको छ । ‘राडार गन’ का लागि ट्राफिक प्रहरी आफैँ सडकमा उपस्थित भएर गति हेर्नुपर्ने हुन्छ । अहिले जडान भइरहेको प्रणालीले भने स्वचालित रुपमा काम गर्छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्र भट्टका अनुसार अहिले जडान भएको प्रणाली अर्थात् ‘एएनपीआर क्यामरा विथ स्पीड डिटेक्सन क्यामरा’ले तोकिएको भन्दा बढी गतिमा जाने गाडीको फोटो खिचेर नियन्त्रण कक्षमा पठाउँछ । त्यसलाई हेरेर ट्राफिक प्रहरीले कारबाही गर्छ ।

यसको जडान तथा सफ्टवयरको काम भइरहेकोले अबको एक हप्तामा सञ्चालन आउने पनि प्रवक्ता भट्टले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • गोविन्द पाण्डे

    July 12, 2023, 9:52 a.m.

    सवारी नियम उलंघन थाहा हुने बित्तिकै सवारीधनीको मोबाइलमा तुरून्त सन्देश जाने हुनु पर्यो । एक साल पछि सवारी इजाजत पत्र नविकरण गर्न जाँदा जरिवाना, त्यस माथि बिलम्ब शुल्क, त्यसको पनि अर्को शुल्क गरेर दुःख दिने काम नहोस् । साँच्चै स्मार्ट होस् ।

  •  0 Reply

तपाईको प्रतिक्रिया