काठमाण्डाैकाे फोहर बोकेका गाडी आज पनि बञ्चरेडाँडा जान पाएनन् : स्थानीयबासिन्दाको अवराेध कायमै

 साउन २, २०८० मंगलबार ७:४९:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौ उपत्यकाको फोहर बोकेका गाडी आज पनि ल्याडफिल्ड साइट बञ्चरेडाँडा जान सकेका छैनन् । फोहरको विषयलाई लिएर नुवाकोटको ककनी र धादिङको धुनीबेसीका स्थानीयबासिन्दाले आन्दोलन थालेपछि काठमाण्डौबाट फोहर बोकेर गाडी बञ्चरेडाँडा जान नसकेका हुन् ।

स्थानीय बासिन्दाले हिजोदेखि आन्दोलन थालेका हुन् । काठमाण्डौको फोहर लिएर गएका गाडी स्थानीय बासिन्दाले बीच बाटोमै रोकेपछि ती गाडी फर्किएका र आज फोहर बोकेका कुनै पनि गाडी नगएको नुवाकोटको ककनी गाउँपालिका–३ का वडाअध्यक्ष घननाथ बजगाईँले जानकारी दिनुभयो ।

नुवाकोटको सिसडोल ल्यान्डफिल्ड भरिएपछि अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन भइरहेको छ । बञ्चरेडाँडा नुवाकोट र धादिङको सिमानामा पर्छ । काठमाण्डौ महानगरसहित उपत्यकाका १८ वटा पालिकाको फोहर बञ्चरेडाँडा र सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

फोहर प्रभावित क्षेत्रका बासिन्दा र जनप्रतिनिधिले यसअघि विभिन्न ६ बुँदे माग राखेका थिए । उनीहरुले माग पूरा नभएको भन्दै फोहर फाल्न रोकेका हुन् । बञ्चरेडाँडाको फोहरबाट निस्किएको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरि अन्तै व्यवस्थापन गर्नुपर्ने, प्रभावित पालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किलोमिटर जीपीएस क्षेत्रको जग्गा अधिकरण गर्नुपर्ने र प्रभावितलाई मुआब्जा वितरणको प्रक्रिया अघि बढाउनुपर्नेलगायतका माग छन् ।

गएको जेठ २६ गते सहरी विकास मन्त्रालय, काठमाण्डौ महानगरपालिका र फोहरबाट प्रभावित पालिका प्रमुख र वडाध्यक्षको बैठकले प्रभावित क्षेत्र लक्षित विभिन्न सम्झौता गरेको थियो । ती सम्झौताको पूर्ण कार्यान्वयन गर्नुपर्ने प्रभावित बासिन्दाको माग रहेको छ ।

माग पूरा नभएसम्म आन्दोलन नरोक्ने स्थानीय बासिन्दाको अडान रहेको वडाअध्यक्ष बजगाईँले बताउनुभएको छ । फोहर ल्याएर बिसर्जन गरिरहने तर विगतमा भएका सहमतिको पालना नभएपछि फेरि आन्दोलन गर्नुपरेको उहाँको भनाइ छ । प्रधानमन्त्री या गृहमन्त्रीसहित उच्चस्तरमा पहल नभएसम्म फाेहर फाल्न नदिने पनि उहाँले बताउनुभएको छ ।

वातावरणीय अध्ययन प्रतिवेदन तयार गरेर फोहरबाट प्रभावित बस्तीलाई व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नभएको जनप्रतिनिधिले बताएका छन् । तर स्थानीय बासिन्दाको मागअनुसार त्यस क्षेत्रको वातावरणीय अध्ययनको काम शुरु भएको र अरु मागका विषयमा पनि छलफल भइरहेको काठमाण्डौ महानगरका सहप्रवक्ता दिपक अधिकारीले बताउनुभएको छ ।

अहिले शनिवारबाहेक दैनिक एक सय ७० देखि एक सय ८० ट्रकसम्म फोहर बन्चरेडाँडामा पुग्ने गरेको छ । शनिवार भने एक सय ५० वटासम्म ट्रक फोहर बोकेर बञ्चरेडाँडा पुग्ने गरेका छन् ।

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया