महानगरको निर्णय गाडीवालाले सुने, तर रोक्न छोडेनन्

 साउन १४, २०८० आइतबार ९:५:५८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

धादिङ ज्वालामुखी गाउँपालिकाका सुनिलकुमार श्रेष्ठ काठमाण्डौ पोखरा चल्ने माइक्रो बसको चालक हुनुहुन्छ । उहाँ कलङ्कीमा गाडी रोकेर पोखरा जाने हो भन्दै सडक पेटीमा उभिएका मानिसहरुलाई सोध्दै हुनुहुन्छ । उहाँलाई असार १ गतेदेखि यसरी बीच बाटोमा गाडी रोकेर मान्छे हाल्न तथा ओराल्न पाइन्न भन्ने जानकारी त छ । तर, महानगरले यो निर्णय गरे पनि अहिलेसम्म लागू नै नभएको उहाँ बताउनुहुन्छ ।

‘हामी त बसपार्कबाट छुटेका छैनौँ । कलङ्कीबाटै छुटिराछौँ । अहिले नियम नै लागू भएको छैन,’ उहाँ भन्नुहुन्छ, ‘यात्रुलाई थाहै छैन । यात्रु हामीले ल्याउँछौँ । कलङ्कीमा झार्छौँ । उता पनि झार्छौँ । यो नियम बसपार्क एरियामा लागू भएको छ । कलङ्कीमा लागू भएको छैन ।’

उहाँका अनुसार महानगरको यो नियम केवल नयाँ बसपार्क क्षेत्रमा मात्र लागू भएको छ । अहिले पनि कलङ्कीमा टिकट काउण्टर छ । र, यात्रुहरु चढाउने तथा ओराल्ने काम पनि भइरहेको छ । उहाँ पनि पोखराबाट काठमाण्डौ आउँदा यात्रुहरु झार्न बसपार्क नै जानुहुन्छ । तर, कलङ्की तथा त्यस वरपरका अन्य ठाउँमा पनि यात्रु झार्ने काम गरिरहनु भएको छ । 

‘यो नियम कलङ्कीमा त लागू भएकै छैन । यो नियम लागू भए पनि बसपार्कमा त गाडी नै अट्दैन नि । यत्रो कलङ्की, बल्खुमा भएको गाडी बसपार्क गएर त सम्भवै छैन नि,’ उहाँको तर्क छ, ‘गर्न सके त राम्रो हो । यसरी कलङ्कीमा जाम पनि हुँदैनथ्यो । बाटोमा जाम पनि हुँदैनथ्यो । राम्रो हुन्थ्यो ।’

काठमाण्डौ महानगरपालिकाले गएको असार १ गतेदेखि काठमाण्डौ भित्रिने र बाहिरिने लामो तथा छोटो दूरीको गाडी नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने निर्णय गरेको थियो । साथै बसपार्क बाहिर रहेका टिकट काउण्टर हटाउने र त्यसलाई व्यवस्थित गर्न बसपार्कमै टिकट काउण्टर राख्ने निर्णय पनि गरेको थियो ।

तर, अहिले पनि काठमाण्डौ उपत्यका भित्रने नाकाहरु कलङ्की, कोटेश्वर, बल्खुलगायतका क्षेत्रमा गाडीहरुले यात्रु चढाउने तथा झार्ने गरेका छन् । त्यस्तै, सुकेधारा, चाबहिल, गौशाला लगायतका क्षेत्रमा रात्रि बस चढ्ने र ओर्लनेको उत्तिकै भिड छ ।

गौतम लामिछाने काठमाण्डौ भित्रिने तथा बाहिरिने मुख्य नाका कलङ्कीमा चकलेट, मिठाइको पसल चलाउनुहुन्छ । उहाँ महानगरको यस निर्णय ठीक भए पनि त्यसले यात्रु, व्यवसायी तथा कर्मचारीलाई कति समस्या परेको छ त्यसको बारेमा महानगरले नहेरेको गुनासो गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो निर्णय यात्रु, व्यवसायी तथा कर्मचारी कसैको पनि हितमा छैन ।’

तर, निर्णय लागू भइसकेपछि कलङ्कीमा जाम घटेको र गाडी पातलिएको भने उहाँ स्वीकार्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बसपार्क जानै पर्छ भन्ने चाहिँ छैन । तर, सडकमा डिस्टर्ब नगरि गाडी भर्न त पाइयो ।’ खाली ठाउँ हेरेर रोक्ने, ट्राफिक प्रहरीले सिट्ठी नफुकेसम्म नजाने तथा तेल हाल्ने नाममा यात्रु हाल्ने काम अहिले पनि कलङ्कीमा भइरहेको देख्न सकिन्छ ।

धादिङका स्थायी बासिन्दा तथा अहिले कलङ्की बस्ने मनाेज न्याैपाने पोखरा जान लाग्नुभएको छ । महानगरलाई व्यवस्थित बनाउन यो निर्णय भए पनि यात्रुलाई भने यसले केही झमेला बनाएको गुनासो छ उहाँको । 
‘अब कलङ्की बस्ने हामी जस्ता यात्रुलाई बसपार्क गएर गाडी चढ्नुभन्दा यहीँबाट गाडी चढ्नु ठीक हुन्छ । बस स्टप बीचबीचमा पनि बनाएर व्यवस्थित गर्दा हामी जस्ता यात्रुलाई पनि सहज हुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘गाडी बसपार्कमै हुन्छ । त्यहाँबाट यात्रु उठाउँदै ल्याउने अनि कहाँ झर्न चाहन्छन् त्यहाँ झार्दिने गर्दा सजिलो हुन्छ ।’

यो नियमअनुसार काठमाण्डौ बाहिरबाट आउँदा कलङ्की झर्नुपर्ने यात्रु बसपार्क गएर फेरि कलङ्की नै आउनुपर्दा समय र खर्च दुवै बढ्ने देखिन्छ । अझ केटाकेटी, बुढाबुढी अनि सामान पनि हुँदा ट्याक्सी चढ्नुपर्ने बाध्यता आइलाग्छ । 

यस्तै समस्या भोग्नुभएको छ, बर्दिया नगरपालिकाका सुजन अधिकारीले । उहाँलाई शुक्रवार दिउँसो बर्दियाबाट काठमाण्डौ आउँदा कलङ्कीमा गाडीले रोकेन । उहाँ बाध्य भएर नयाँ बसपार्कमा झर्नुपर्यो । कीर्तिपुर बस्ने अधिकारीले फेरि साथीलाई फोन गरेर लिन बसपार्क बोलाउनु भयो । र, साथी मोटरसाइकल लिएर लिन आएपछि घरबाट ल्याएका कोसेलीसहित पछाडि बसेर कीर्तिपुर लाग्नुभयो । यसले गर्दा उहाँले दोहोरो झण्झट बेहोर्नु पर्यो ।  

‘गाडीलाई कलङ्कीमा झार्दे भनेको हो । रोकेन । अब त्यही बाटो फर्केर फेरि कीर्तिपुर जानुपर्ने भयो । दुःख भए पनि सरकारको निर्णय मान्नैपर्यो,’ अधिकारी भन्नुहुन्छ, ‘कसै कसैले कलङ्कीमा झार्छन् पनि । कोही यसो हेरेर ट्राफिक छैन भने झार्छन् । कोही मान्दैनन् । अहिले हामीले दुःख पाइरहेका छौँ ।’

झापा बिर्तामोड बाह्रदशी गाउँपालिकाका सहचालक हरिप्रसाद न्यौपाने पनि महानगरको यस निर्णयले गाडीवालालाई भन्दा यात्रुलाई धेरै नै मर्का पर्ने बताउनुहुन्छ । काठमाण्डौ बाहिरबाट आउने वृद्ध तथा अशक्त तथा अरु यात्रुले पनि आफूहरुले कलङ्कीमा नझार्दा झर्कोफर्को गर्ने र रिसाउने गरेको उहाँको भनाइ छ ।

कतिपय यात्रुको कलङ्कीमा काम हुने तथा कतिपय वृद्ध अशक्त यात्रु बसपार्क आएर फेरि कलङ्कीमै जानुपर्दा यो यात्रुकोतर्फबाट हेर्दा एकदमै अव्यावहारिक रहेको उहाँको अनुभव छ । ‘यात्रुहरुले कानुनी कुरा बुझ्नुहुन्न त्यही भएर हामीसँग रिसाउने तथा झर्कोफर्को गर्नुहुन्छ,’ उहाँ भन्नुहुन्छ, ‘कतिपय यात्रु वृद्ध अशक्त हुन्छन् उनीहरुलाई बसपार्क आएर फेरि त्यही रुटमा जान अप्ठेरो हुन्छ । काठमाण्डौको महँगी अनि ट्याक्सी भाडा सबैलाई थाहा भएकै कुरा हो ।’

काठमाण्डौ महानगरका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठ महानगरले यस्ता व्यावहारिक पक्षलाई विचार गर्दा असार १ गतेदेखि लागू गर्न भनेको यस निर्णय कार्यान्वयन गर्न ढिलाइ भएको स्वीकार गर्नुहुन्छ । 
‘कार्यान्वयन पक्षमा केही ढिलाइ भएको कुरा हामी स्वीकार्छौँ । त्यसका केही प्राविधिक पक्ष पनि रहे’ उहाँ भन्नुहुन्छ, ‘कतै बसपार्कका कुराहरु । कतै बाहिरका कुराहरु पनि भए र व्यावहारिक पक्ष पनि हामीले अङ्गाल्नुपर्ने भएको कारणले गर्दा केही समय ढिलाइ हुन गएको हो । यो निर्णय लागू हुन्छ । ढुक्क भएर बस्नुस् ।’ केही व्यावहारिक कुरा मिलाउनका लागि यातायातसँग सम्बद्ध सरोकारवाला निकायसँग समन्वय गर्नुपर्ने कारणले पनि निर्णय लागू गर्नमा ढिलाइ भएको उहाँको भनाइ छ । 

अहिले यात्रुहरुको धेरै गुनासो आएपछि महानगरले पश्चिमतर्फ चल्ने गाडीलाई बाफल तथा ब्याट्री कारखानामा यात्रु चढाउने अनि झार्न दिने सोच बनाएको छ । त्यस्तै पूर्वतर्फका गाडीलाई भने सिनामङ्गल अनि सुकेधारामा यस्तो सुविधाको बारेमा महानगर सकारात्मक देखिन्छ । 

महानगर निर्णय लागू गराउन बल प्रयोगतर्फ जान नचाहेकोले यसमा केही ढिलाइ भएको श्रेष्ठको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘हामीले त्यस्ता क्षेत्रमा अन्तिम पटकका लागि भनेर माइकिङ पनि गरिसकेका छौँ । अबको एकहप्तामा यो निर्णय पूर्णरुपमा लागू हुन्छ ।’

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया