लघुवित्त पीडितको गुनासो : पेन्सन मिल्छ भनेर लालच देखाए, अहिले किस्ता तिर्दा पनि ऋण घटेन !

 साउन १७, २०८० बुधबार १२:३८:१८ | वैद्यनाथ पाैडेल
unn.prixa.net

रोल्पा नगरपालिका–२ रेउगाकी गंगादेवी पुन मगर साउन ३ गतेदेखि काठमाण्डौको माइतीघरमा भैरहेको लघुवित्त पीडितको आन्दोलनमा सहभागी हुनुहुन्छ । पहिले गाउँमा गएर लघुवित्तले समूह बनाउँदा ‘तपाईँहरु बस्नुस्, १५ वर्ष पछाडि पेन्सन हुन्छ’ भनेर लालच देखाएको उहाँको आरोप छ । तर, समूहमा बसेर ऋण लिइसकेपछि अहिले किस्ता तिर्न गाह्रो भयो बिस्तारै तिर्छु भन्दा घरमा भएको काँसको थालदेखि जेसुकै बेचेर भए पनि तिर्नुपर्छ भनेर ताकेता गरेका कारण उहाँ आन्दोलनमा आउनुभएको हो ।

‘पहिले १५ वर्षमा पेन्सनसमेत हुन्छ भनेर लालच देखाए । अहिले घरको काँसकाे थाल नभए किड्नी बेचेर भए पनि किस्ता दिनुपर्छ भनेर ताकेता गरिरहेका छन्,’ पुन भन्नुहुन्छ, ‘किड्नी बेचेर भए पनि किस्ता तिनुपर्छ भनेपछि चार, पाँच दिन खानै खाइनँ । मर्न भनेर रस्सी लिएर पनि हिँडे ।’

उहाँ चार वटा लघुवित्तको सदस्य हुनुहुन्छ । चार वटामध्ये दुई वटामा उहाँको ऋण छ । मिर्मिरे नामक लघुवित्तमा उहाँको तीन लाख रुपैयाँ ऋण छ । त्यस्तै स्वावलम्बनमा उहाँको ऋण चार लाख रुपैयाँ छ । दुवै ऋणको किस्ता २८ दिनमा तिर्नुपर्छ । तीन लाखको झण्डै मासिक २० हजार तिर्नुपर्छ । शुरु शुरुमा ब्याज ३६ प्रतिशत थियो । अहिले भने ब्याज १८ प्रतिशत छ । तर, चौतारी नामक अर्को लघुवित्तमा भने उहाँको बचत छ झण्डै २५/३० हजार रुपैयाँ । समूह जमानी बस्ने कारणले उहाँले चौतारीमा भएको आफ्नो बचत चलाउन पाउनु भएको छैन ।

ब्याजका बारेमा आफूहरुलाई जानकारी नभएको र बिना धितो ऋण दिने भएकोले बढी भएको भनेर उहाँहरुलाई लघुवित्तले भन्ने गरेको थियो । उहाँ भन्नुहुन्छ, ‘३६ प्रतिशत ब्याज भनेर हाम्लाई भनेको थियो । १५ वर्षपछि पेन्सन पाइन्छ भनेर पनि लालच देखायो ।’

अहिले भने लघुवित्तवालाहरुले किस्ता नतिरे कालोसूचीमा राख्ने धम्की दिने गरेका छन् । कालो सूचीमा राखेपछि कोही पनि विदेश जान नपाउने । विदेशमा पढ्न, काम गर्न नपाउने आदि धम्की पनि आउने गरेको छ । तीनपुस्ते कालोसूचीमा हालेपछि सरकारबाट पाउने कुनै पनि सेवा सुविधा नपाउने धम्की पनि उहाँलाई आउने गरेको छ ।

उहाँले अहिले किस्ता नतिरेको १७ महिना भयो । उहाँ भन्नुहुन्छ, ‘हाम्रो आन्दोलन चलेको १७ महिना भयो । अब राष्ट्र बैंक र सरकारले के भन्छ त्यसै अनुसार मात्र किस्ता तिर्ने हो । हाम्रो माग लघुवित्त भन्ने नै खारेज हुनुपर्छ भन्ने हो ।’

थोरै बचत र बिनाधितो ऋण पाउने भएपछि महिलाहरुको आकर्षण लघुवित्तमा भयो । लघुवित्तका कर्मचारीहरु पनि गाउँ गाउँ गएर यसका बारेमा प्रचार गरे । र धेरै महिलाहरु लघुवित्तसँग जोडिन पुगे।

सप्तरी शम्भुनाथ नगरपालिका–२ की ललिता चौधरी पनि यसरी नै लघुवित्तसँग जोडिनु भएको हो । आठ वर्ष अगाडिदेखि उहाँले चार वटा विभिन्न लघुवित्तबाट कोहीबाट एकलाख तथा कोहीबाट ५० हजार रुपैयाँ ऋण लिनु भएको थियो । ऋणको किस्ता पनि उहाँले बुझाउँदै आउनु भएको थियो । तर, कोरोना महामारीका बेला भएको लकडाउनको समयमा भने उहाँले किस्ता तिर्न सक्नु भएन । त्यसपछि व्यवहार बिग्रियो । तिर्न गाह्रो भयो ।

लकडाउनको समयमा तीन/चार किस्ता तिर्न नसक्दा आफ्नो भएको बचत पनि प्रयोग गर्न नपाएको उहाँको आरोप छ । उहाँ भन्नुहुन्छ, ‘हामीले किस्ता तिर्दा पनि ऋण घटेको छैन । ७०/८० हजारको बचत पनि छैन भन्छ ।’

घरमा रहेको गरगहना तथा बाख्रा बेचेर पनि किस्ता तिर्दै आएको उहाँको भनाइ छ । तर, यति गर्दा पनि घरमा गएर तनाव दिने, राति नौ बजेसम्म पनि घरमा आएर किस्ता तिर् भनेर धम्की दिने, सबैका सामुन्ने गाली बेइज्जती गर्ने कारणले आन्दोलनमा आउन बाध्य भएको बताउनुहुन्छ चौधरी ।

चौधरीका अनुसार जति पैसा तिरे पनि ऋण भने घट्ने गरेको छैन । लघुवित्तवालाहरुलाई भन्दा सबै पैसा ब्याजमा काटेको भनेर उत्तर दिने गरेका छन् । ब्याज पनि १८ प्रतिशत लगाउने गरेको छ । ब्याज घटाउन भन्दा नेपाल सरकारको निर्णय भन्छन् ।

उहाँ भन्नुहुन्छ, ‘पहिले हामीकहाँ आएर हाम्रो पनि अलि अलि पैसा चलाइदिनुस् भने । लोभ देखाए । हामीलाई पनि लघुवित्तको बारेमा थाहा थिएन । हामी पनि लोभमा फस्यौँ । अहिले हामी सबैलाई डुबाइदियो ।’

घरमा भएका बेच्न मिल्ने सामान बेचेर उहाँले किस्ता तिरिसक्नु भयो । अब बेच्न मिल्ने केही छैन । अब भएको बचत कटाउन भन्दा पनि बचत छैन भन्ने गरेको उहाँको आरोप छ । उहाँ भन्नुहुन्छ, ‘घरको सबै सामान बेचेर दिइसक्यो । अब केही छैन के बेचेर दिनु ? बचतबाट काटेर मिनाही गर्दिनु भनेको बचत नै छैन भन्छ । ३० हजार काटेर राखेको थियो । तपाईँको हो भन्थ्यो । अहिले कटाउ भन्दा बचत छैन भन्छ ।’

दुर्गादेवी र ललिता जस्ता धेरै महिला अहिले लघुवित्तको अन्यायका विरुद्ध भनेर माइतीघरमा आन्दोलन गरिरहेका छन् । साउन १ गते शुरु भएको आन्दोलन १७ दिन भइसक्दा पनि कुनै निष्कर्षमा पुगेको छैन ।

लघुवित्तको अन्यायविरुद्धका लागि भनेर १८ महिनाअघि संघर्ष समिति गठन भएको थियो । जसको अध्यक्ष मनिराम ज्ञवाली हुनुहुन्छ । उहाँ आन्दोलन शुरु भएदेखि नै आमरण अनसनमा हुनुहुन्थ्यो । तर, १५ गते आइतवार भने उहाँलाई प्रधानमन्त्री पुष्पकमल दाहालका राजनीतिक सल्लाहकार हरिबोला गजुरेलले जुस खुवाएर अनशन तोडाउनु भयो ।

तर, अनशन तोडे पनि आन्दोलन सकिएको छैन । आन्दोलनमा ठाउँठाउँबाट आएका महिलाहरुको सहभागिता छ । सिरहा नगरपालिका–२ की पूर्णिमा मल्ली पनि माइतीघरको आन्दोलनमा हुनुहुन्छ । 
उहाँले पाँच वर्ष अगाडि ५० हजार रुपैयाँ ऋण लिनु भएको थियो । तर, जति किस्ता तिरे पनि ऋण नघटेको उहाँको गुनासो छ ।

उहाँ भन्नुहुन्छ, ‘किस्ता तिरिरहेकै थियो । लकडाउन भयो । त्यसपछि गाह्रो भयो । चार वटा बालबच्चा छन् । अहिले किस्ता तिर्न सकेको छैन । तर, तिरेको किस्ता पनि ब्याज मात्र भयो भन्छ ।’

चर्को ब्याज । ऋण लिँदा झण्डै ३० प्रतिशत धितोको रुपमा पहिले नै कटाउने प्रवृत्ति । किस्ता तिर्दा साँवा नकाटिने । किस्ता तिर्न घरमै पुगेर दिने मानसिक दबाब । घरमा भएका कुखुरा, बाख्रा र गहना बेचेर भए पनि किस्ता तिर्नुपर्छ भन्ने ताकेताले लघुवित्तकाविरुद्ध आन्दोलन गर्नुपरेको पीडित महिलाको गुनासो छ ।

सिराहा नगरपालिका–२ की सीतादेवी अहिले ल्याएको खर्च सकिएको अनि घरमा गाईबाख्रा हेर्नुपर्ने कारणले घर जान लागेको बताउनुहुन्छ । तर, आफूहरु गए पनि अरु महिलाहरु आउँदै गरेको उहाँले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘हामी जाँदै गरे पनि अरुहरु आउँदै छन् । झन धेरै आउँदै छन् । हामी पनि पछि आउने हो । पाँच गते यहाँ फेरि आन्दोलन भनेको छ हामी भने त्यही बेला आउने हो ।’

लघुवित्त संस्था खारेज हुनुपर्ने, लघुवित्त संस्थाद्वारा लगाइएका सामूहिक ऋण मिनाहा हुनुपर्ने, सरकारले गरिब किसानहरुलाई निःशुल्क ऋण दिनुपर्ने, आवश्यक्ता र क्षमताका आधारमा काम दिनुपर्ने र समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने पाँच बुँदे माग लिएर लघुवित्तपीडितहरु आन्दोलनमा छन् ।

अन्तिम अपडेट: फागुन १७, २०८०

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Kalpana Rai

    Aug. 6, 2023, 8:56 p.m.

    Rin khaneko Testo chha nakhako ma xu niskinchhu bachat kati chha dinu bhanda t didain k garnu 1 barsa bat bachat phorta didain

  •  0 Reply

तपाईको प्रतिक्रिया