रातो मच्छिन्द्रनाथ मन्दिरकाे पुनर्निर्माण ६ वर्षमा पनि सकिएन

 भदौ २१, २०८० बिहिबार ७:१२:३७ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै - वर्षा र सहकालको प्रतिक मानिने रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माणकाे काम थालिएको ६ वर्ष बितिसक्दा पनि अझै सम्पन्न भएको छैन । ललितपुर महानगरपालिका–२२ बुङ्गमतिमा रहेको ऐतिहासिक रातो मच्छिन्द्रनाथको मन्दिरलाई २०७२ सालको भूकम्पले ढालेको थियो ।

मच्छिन्द्रनाथ मन्दिरसँगै रहेका मनकामना माई मन्दिर र भैरवनाथ मन्दिर पुनर्निर्माण भइसकेका छन् । तर, रातो मच्छिन्द्रनाथकाे मन्दिरमा भूकम्पले क्षति पुर्याएको आठ वर्ष बितिसक्दा पनि पुनर्निर्माण पूरा हुन नसकेको हो ।

श्रीलङ्कन दूतावासको सहयोगमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७४ सालमा मन्दिर पुनर्निर्माणको काम प्रेरा भेगिम तुल्सी जेभी निर्माण कम्पनीलाई दुई वर्षमा पुनर्निर्माण सक्ने गरी ठेक्का दिएको थियो । मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष यज्ञरत्न शाक्यका अनुसार मन्दिरको काम शुरु भएर मन्दिर एक तलासम्म निर्माण भएको थियो । तर प्राविधिक त्रुटि देखिएपछि फेरि भत्काएर शुरुदेखि निर्माण थालिएको थियो । मन्दिरको पुनर्निर्माण कार्यको जिम्मा लिएको कम्पनीले बीचमै काम छोडेपछि २०७६ साल पुस १४ गते उपभोक्ता समितिले जिम्मा लिएको थियो ।

सम्झौताअनुसार उपभोक्ता समितिले गएको जेठ ३० गते काम सम्पन्न गर्नुपर्ने हो तर मन्दिर निर्माणको काम अझै अपुरो रहेको छ । रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण तथा संरक्षण कार्यको बाँकी काम पूरा गर्ने उद्देश्यले तीन करोड आठ लाख आठ हजार नौ सय रुपैयाँ लागतमा मन्दिर निर्माण गर्ने सम्झौता भएको छ ।

सम्झौता मितिमा काम सकिनुपर्ने भए पनि अहिले रोकिएको छ । मन्दिर निर्माणका लागि प्रयोग गरिएको दाजी इँटाको अभाव भएको मच्छिन्द्रनाथ पुजारी सङ्घका अध्यक्ष शाक्य बताउनुहुन्छ । बुङ्गमतीको रातो मच्छिन्द्रनाथ मन्दिरबाट १२ वर्षमा एकपटक रातो मच्छिन्द्रनाथको रथ तयार गरी पाटनमा घुमाएर पुनःरथलाई बुङ्गमतीमै पुर्याउने प्रचलन छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया