शैलुङको पर्यटन प्रवर्धन गर्न 'वाइल्ड स्टे विथ चौँरी' काे आयाेजना

 भदौ ३१, २०८० आइतबार १५:४१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – 'माथि माथि शैलुङ्गेमा चौँरी डुलाउनेलाई ...' कुन्ति मोक्तानले गाएको यो सदाबहार गीत नसुन्ने सायदै कोही होलान् । गीतमा सुनिएको तर प्रचुर सम्भावना भएर पनि पर्यटकीय दृष्टिमा प्रचारप्रसार नभएको शैलुङमा स्पार्क कारले स्पार्क एड्भेन्चर २०२३ अन्तर्गत 'वाइल्ड स्टे विथ चौँरी' काे आयोजना गरेको छ ।

गएकाे वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर शुरु भएको स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको शैलुङ र त्यहाँको चौँरीगोठलाई केन्द्रित गर्दै आयोजना गरिएको कार्यक्रम संयोजक अमरदीप भट्टराईले जानकारी दिनुभयाे ।

असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा सेलिब्रेटी, प्रशासनिक एवम् सुरक्षा निकायका अधिकारी सहभागी हुने संयोजक भट्टराईले बताउनुभयाे । क्याप्टेन विजय लामा, वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भन्डारी, कलाकार निखिल उप्रेती, दीलिप राजमाझी, सन्दीप क्षेत्री, यश कुमार, गरिमा शर्मा तथा लेखक बुद्धिसागर, ट्राभलर सिर्जना सिज्जुलगायतको उपस्थिति रहने उहाँले बताउनुभयाे ।

असोज ११ गते बिहान काठमाण्डाैदेखि शैलुङको यात्रा शुरु हुनेछ । असोज १२ गते चौरीँ गोठ र शैलुङलाई 'एक्सप्लोर' गर्ने आयोजकले जनाएको छ । त्यही दिन साँझ स्थानीय सांस्कृतिक कार्यक्रमसहित रैथाने खानामा रमाइनेछ ।

आन्तरिक पर्यटनको खोजी गर्ने, चौँरीसँग जङ्गलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले  कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

हिमालयको 'पानारोमा भ्यु', लेकाली फूल र उच्च पहाडी क्षेत्रकाे अविश्वसनीय दृश्यको अनुभव गर्न सहभागी हुनुपर्ने भट्टराई बताउनुहुन्छ । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ ।

वर्षाैँदेखि ओझेलमा परेका वा विदेश भ्रमणका कारण पहिलो रोजाइमा नपरेका आन्तरिक गन्तव्यहरूको खोजी गर्न स्पार्क एड्भेन्चरलाई भविष्यमा पनि निरन्तरता दिइने संयोजक भट्टराईको भनाइ छ ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभर ड्राइभरसहित गाडी पनि उपलब्ध गराउँदै आएको छ ।

बीवाईडी र स्पार्क कारको सहकार्यमा साउथ एसियामा सबैभन्दा बढी विद्युतीय गाडी परिचालन गर्ने संस्थाको रूपमा स्पार्क कार रहेको भट्टराईले बताउनुभयाे । स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्न सन् २०३५ सम्ममा संस्थालाई आवश्यक सबै गाडी विद्युतीय मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ  ।

कार्यक्रममा सहभागी हुन इच्छुकले तलको लिङ्कमार्फत दर्ता हुन सकिने आयोजकले जनाएको छ ।

https://forms.gle/DJHDvRp9pjNLvgGC8

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया