जसरी पनि अर्थतन्त्रका चुनाैती समाधान गरिन्छ : अर्थसचिव पुष्कर

 असोज ४, २०८० बिहीबार १४:७:६ | रासस
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त अर्थसचिव डा. कृष्णहरि पुष्करले अहिले देशको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि कर्मचारी संयन्त्रबाट अधिकतम प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

आज बिहीवार मन्त्रालयमा कर्मचारीलाई निर्देशन दिँदै अर्थसचिव पुष्करले अर्थतन्त्रमा देखिएका चुनौती समाधान सकिने विश्वास व्यक्त गर्नुभयो ।

‘अर्थतन्त्रको विषम परिस्थितिमा धेरै चुनौतीका अगाडि मलाई सरकारले अर्थसचिवको जिम्मेवारी दिइएको छ । यो कुरालाई मैले निकै संवेदनशीलताका साथ मनन गरेको छु’, पुष्करले भन्नुभयो, ‘राज्यका अगाडि देखिएका चुनौती समाधान गर्न सक्ने छौँ भन्ने विश्वास लिएको छु । लडेर–भिडेर जसरी पनि अर्थतन्त्रका चुनौती समाधान गर्नेछौँ ।’

अहिले अर्थतन्त्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपबाट चुनौतीहरू देखापरेको उल्लेख गर्दै उहाँले दृढ विश्वासका साथ काम गरे समाधान गर्न सकिने बताउनुभयो ।

‘अहिले आर्थिक स्थायित्व कायम गर्ने, राजस्व घाटा कम गर्ने, सार्वजनिक ऋणको व्यवस्थापन लगायतका विषय चुनौतीपूर्ण छन् । पुँजी बजारका विषयमा सबै सरोकारवाला मिलेर चुनौती व्यवस्थापन गर्नुपर्ने अवस्था छ’, उहाँले भन्नुभयो, ‘चुनौतीहरू बेलाबेलामा आइरहन्छन् । तिनलाई सम्बोधन गर्दै र व्यवस्थापन गर्दै जानुपर्ने हुन्छ ।’ वित्त नीति र मौद्रिक नीतिका समन्वयात्मक कार्यान्वयनबाट सकारात्मक नतिजा प्राप्त गर्न सकिने उहाँको भनाइ छ ।

अर्थसचिव पुष्करले यसअघि पनि अर्थ मन्त्रालयमा राजस्व सचिव र अर्थसचिवका रूपमा काम गरिसक्नुभएको छ । अर्थ मन्त्रालयमा पहिले पनि काम गरिसकेकाले कर्मचारीले आफूलाई पूर्ण सहयोग गर्ने विश्वास लिएको उहाँको भनाइ छ । अहिलेको बदलिँदो परिप्रेक्ष्यमा विगतमा गरिरहेको भन्दा थप मेहनतका साथ काम गर्न पनि उहाँले कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

‘हामीले नतिजामुखी काम गर्ने भनेको ‘टिमवर्क’ बाट हो । सबै साथीहरूमा कामप्रतिको लगाव छ । त्यसको सम्मान गर्दै थप जाँगरका साथ काम गर्न आग्रह गर्दछु’, उहाँले भन्नुभयो, ‘तपाईँहरूले व्यावसायिक, जिम्मेवार र उत्तरदायी भएर कर्तव्य निर्वाह गर्नुहुनेछ भन्नेमा विश्वस्त छु ।’

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया