यो वर्षको हिउँदका शुरुवाती महिनामा औसतभन्दा धेरै पानी पर्ने अनुमान

 असोज २४, २०८० बुधबार १९:३३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – यस वर्षको हिउँदका शुरुवाती महिनामा औसतभन्दा धेरै पानी पर्ने सम्भावना देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले जारी गरेको आउँदो पुस १५ गतेसम्मको हावापानी आँकलनअनुसार देशभर औसतभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेशका पूर्वी भाग, कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका धेरै भूभाग र मधेस प्रदेशमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ । देशमा बाँकी भू–भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

यो अवधिमा तापक्रमसमेत बढ्ने आँकलन छ । देशका धेरैजसो भू–भागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ५५ प्रतिशत र न्यूनतम तापक्रम औसतभन्दा धेरै हुने सम्भावना ३५ देखि ६५ प्रतिशत रहेको छ । अधिकतम र न्यूनतम दुवै तापक्रम बढी हुँदा औसतभन्दा बढी गर्मी हुन्छ । हावापानी आँकलन तयार गर्दा नेपालको जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागर र हिन्द महासागरमा विकसित हुने प्रणालीको अवस्था तथा अन्तरऋतु परिवर्तनशीलताका कारकहरूलाई समेत मध्यनजर गरिएको विभागले जनाएको छ ।

यसैबीच यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशको सबै क्षेत्र, लुम्बिनी प्रदेशको धेरैजसो क्षेत्र र गण्डकी प्रदेशको पश्चिमी क्षेत्रबाट बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन निकालेर आज बुधवार दिउँसोदेखि गण्डकी प्रदेशको पश्चिमी भू–भागबाट समेत मनसुन बाहिरिएको जानकारी गराएको हो । नेपालको बाँकी भू–भागबाट पनि केही दिनमै मनसुन बाहिरिने विभागले जनाएको छ ।

यस वर्ष मनसुन अवधिमा सरदर वर्षाको झन्डै ८८ प्रतिशतमात्रै पानी परेको छ । काठमाण्डौसहितका केही ठाउँमा औसतभन्दा धेरै पानी परेको भए पनि विशेषगरी मधेस प्रदेशमा पानी कम परेको हो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया