उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् खरिद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ ।
भारतको विद्युत् मन्त्रालयले गएकाे ३ कात्तिकमा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४/२५ देखि २०२९/३०सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । जसमा वायु, जलविद्युत्, वितरीत र अन्य नवीकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको छ ।
भारतका अनुमतिपत्र प्राप्त वितरण कम्पनीहरु र खरिदकर्ताहरुका लागि अनिवार्य जलविद्युत् खरिद (एचपीओ) को न्यूनतम खपत अंश तोक्दै केन्द्रीय सरकारबाट भारतमा विद्युत् बिक्रीका लागि स्वीकृति प्राप्त छिमेकी देशका जलविद्युत् आयोजनाहरुबाट खरिद गरिएको विद्युतलाई पनि नवीकरणीय ऊर्जा खपत अंशमा राख्न पाउने व्यवस्था गरेको हो ।यसअघि यस्तो एचपीओको व्यवस्था भारतमा उत्पादित जलविद्युत् आयोजनाहरुबाट खरिद गरिएको विद्युतमा मात्र व्यवस्था थियो ।
भारतले नवीकरणीय ऊर्जा खपत हिस्सा सन् २०२४/२५ मा २९ दशमलव ९१ प्रतिशत र २०२९/३० सम्ममा बढाएर ४३ दशमलव ३३ प्रतिशतको लक्ष्य भेट्नु पर्नेछ । यसमध्ये जलविद्युत् खपत हिस्सा सन् २०२४/२५मा ० दशमलव ३८ र सन् २०२९/३०सम्ममा बढाएर १ दशमलव ३३ प्रतिशतको लक्ष्य भेट्नु पर्ने छ । यसका लागि ३१ मार्च २०२४पछि सञ्चालनमा आएका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युतलाई मात्र गणना हुने व्यवस्था गरिएको छ । तोकिएको एचपीओको हिस्सा पुर्याउनै पर्ने र नपुर्याउने वितरण कम्पनीहरु तथा विद्युत् खरिदकर्ताहरुलाई जरिबाना हुने व्यवस्था गरिएको छ ।
अन्य नवीकरणीय ऊर्जाका लागि तोकिएको खपत अंश १ अप्रिल २०२४ अघि सञ्चालनमा आएका जलविद्युत् आयोजनाहरुबाट खरिद गरिएको विद्युतलाईसमेत गणना गर्न सकिने व्यवस्था छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनिवार्य जलविद्युत् खरिदको नयाँ व्यवस्था व्यावहारिक रुपमा लागू भए नेपाल, भारत र भुटानलाई फाइदा पुग्ने बताउनुभयो ।
‘आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरुबाट खरिद गरिएको विद्युतलाई पनि एचपीओमा समावेशको व्यवस्था गर्न हामीले लामो समयदेखि भारतलाई आग्रह गर्दै आएकोमा अहिले यसलाई समेटिएको छ, यसले भारतका विद्युत् वितरण कम्पनीहरु तथा खरिदकर्ताहरुलाई जलविद्युत् आयोजनाहरुको विद्युत् खरिद गर्न सजिलो हुने छ’, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । ‘यो व्यवस्था व्यावहारिक रुपमा कार्यान्वयन भएमा नेपालको जलविद्युतले भारतमा राम्रो बजार पाउने छ ।’
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले आईएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केही समयअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमीटेड एनभीभीएनलाई बिक्री गरिरहेको छ । एनभीएनले याे विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।
भारतको केन्द्रीय विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति पाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।