उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - नेपाल–जर्मन आर्थिक सहयोग कार्यक्रमअन्तर्गत नुवाकोट र रसुवामा निर्माण गरिएका ३३/११ केभीका दुईवटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन भएको छ ।
जर्मन सरकारद्वारा केएफडब्लू विकास बैंकमार्फत प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकामा रहेकाे कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीवार उद्घाटन गरिएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र केएफडब्लूका नेपाल तथा बङ्लादेश क्षेत्रीय कार्यालयका निर्देशक माइकल शम्शेर हेलिस्टनले संयुक्त रुपमा रातामाटे सबस्टेसन उद्घाटन गर्नुभयो । यसैगरी, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र केएफडब्लूका दक्षिण एसियाका लागि उपनिर्देशक क्रिस्टोफ क्रिगरले संयुक्त रुपमा कालिकास्थान सबस्टेसनको उद्घाटन गर्नुभएको थियो । याे सबस्टेसनहरुबाट स्थानीय रुपमा विद्युत् आपूर्ति दिइएको छ ।
जर्मन सरकारले केएफडब्लू विकास बैंकमार्फत २०७२ सालको विनाशकारी भूकम्पपछि नुवाकोट र रसुवाको विद्युत् वितरणप्रणाली सञ्जाल पुनर्निर्माण, विस्तार तथा सुदृढीकरणका लागि ५० लाख युरो (करिब ७० करोड रुपैयाँ) अनुदान रकम दिएको थियो । याे अनुदान रकमबाट दुईवटा वितरण सबस्टेसन, ३३ केभी, ११ केभी र एलटी लाइन निर्माण गरिएको छ । यसबाट दुई जिल्लाका १ हजार २ सयभन्दा बढी घरधुरीले भरपर्दो विद्युत् उपभोग गर्न पाउने छन् ।
उद्घाटन कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत्, प्रसारण र वितरणतर्फका आयोजनाहरु निर्माणमा केएफडब्लूको ठूलो सहयोग रहेको उल्लेख गर्दै सबस्टेसन निर्माणबाट त्यस क्षेत्रका उपभोक्ताहरुले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाइरहेको बताउनुभयो । उहाँले विद्युत् आपूर्ति सुधार भएपछि यस क्षेत्रमा घरेलु उद्योग खोल्न प्रोत्साहन मिल्ने बताउनुभयो ।
केएफडब्लूका हेलिस्टर्न र क्रिगरले नेपाल र जर्मनीबीचको सम्बन्ध ६० वर्षभन्दा बढी पुरानो रहेको ऊर्जा क्षेत्रमा ४० वर्षदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अब विद्युत् प्रसारण र वितरणतर्फ सहयोग गर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।