नेत्रहीन क्रिकेट टी–२० विश्वकपमा नेपाल श्रीलङ्कासँग ७० रनले पर...
मंसिर ८, २०८१ शनिबार
रुकुम पूर्व – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताउनुभएको छ । रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य भए पनि ठूलो क्षति बेहाेपरेको अवस्थालाई ध्यानमा राखेर क्षतिपूर्तिका लागि स्पष्टरूपमा आफ्ना कुरा राखिने बताउनुभयो ।
जलवायु परिवर्तनको पीडा कम गर्न अन्तर्राष्ट्रिय कोषबाट सहयोग उपलब्ध गराइँदै आएको भए पनि नेपालले अहिलेसम्म कममात्रै रकम पाएकाले त्यसमा उल्लेख्यरूपमा वृद्धि गर्न अन्तर्राष्ट्रिय समुदायलाई आफूले पटकपटक अनुरोध गरेको स्पष्ट पार्नुभयो ।
आफ्नो आग्रहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टियो गुटरेसले नेपाल भ्रमण गरेर जलवायु परिवर्तनबाट परेको प्रभावलाई नजिकैबाट हेरेर जानुभएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गर्नुभयो । जलवायु परिवर्तनबाट परेको प्रभावबाट दुःख पाएको नेपालले अन्तर्राष्ट्रिय समुदायबाट पाउनुपर्ने राहत अधिकारको विषय भएको उहाँकाे भनाइ छ ।
नेपालीले गर्दै नगरेको कमजोरीको सजाय पाइराखेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले 'क्लाइमेट फन्ड' बाट ठूलो राहतका लागि सरकारका तर्फबाट दस्तावेज तयार पार्न उच्च अधिकारीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले मैकोटलाई खुला सङ्ग्रहालय घोषणा गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सरकारको तर्फबाट साथ तथा सहयोग रहने स्पष्ट पार्नुभयो ।
यस्तै प्रधानमन्त्रीले जडीबुटी तथा कृषि क्षेत्रको विकासका लागि एउटा विशेष परियोजना अगाडि बढाउन पहल गर्ने विश्वास दिलाउनुभयो । आफ्नो चीन भ्रमणका क्रममा हिमाली क्षेत्रका केही जिल्लामा विशेष परियोजना सञ्चालन गर्ने सहमति भएको जानकारी दिँदै उहाँले रुकुम पूर्वको पुथा उत्तरगङ्गा पनि हिमाली पालिका भएकाले एउटा परियोजना अगाडि बढाइने बताउनुभयो ।
क्रान्तिको समयमा ठूलो त्याग, तपस्या र बलिदान गरेको यस क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ छ । शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रको विकासका लागि पनि उत्तिकै महत्त्व दिइएको उहाँले बताउनुभयाे ।
नेपालको संविधानमा नै समाजवादउन्मुख विषयलाई उल्लेख गरिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिका लागि सरकारले पहलकदमी लिएको र त्यही सङ्कल्पका आधारमा काम शुरु भएको बताउनुभयो । तराई–मधेसमा रहेका लाखौँ किसानलाई मिटरब्याजीबाट पीडा र अत्याचारबाट मुक्त गरिएको जानकारी दिनुभयो ।
यस्तै नागरिकताविहीन नेपालीलाई पनि वर्तमान सरकारले प्राथमिकता राखेर नागरिकता प्रदान गरिएको तथ्य पेस गर्नुभयो । विदेशमा गएका लाखौँ नेपाली युवाको हक अधिकार सुनिश्चित गर्न सामाजिक सुरक्षाको दायरामा ल्याइएको, अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका श्रमिकलाई पनि त्यसको दायरामा ल्याइएको प्रधानमन्त्रीको भनाइ छ ।
सामाजवादको आधार तयार पार्ने काममा सरकार लागिपरेको उल्लेख गर्दै उहाँले केही तथ्यसमेत पेस गर्नुभयो । भ्रष्टाचार नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै ठूलाठूला मन्त्री र नेतासमेत जेल जाने अवस्थाको सिर्जना भएको बताउनुभयो ।
सुन तस्करी नियन्त्रणमा पनि सरकार उत्तिकै क्रियाशीलताका साथ लागिपरेको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुशासन कायम गर्न निरन्तर लागिपर्ने बाँकी नराखिने बताउनुभयो । फरक एक प्रसङ्गमा प्रधानमन्त्रीले वर्तमान गठनबन्धन पूरै पाँच वर्ष टिक्ने र देश तथा नागरिकका पक्षमा काम गरेरै देखाउने विश्वास व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।