नेपालले अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्ने काम गरिरहेकाे छ : अर्थमन्त्री

 मंसिर ५, २०८० मंगलबार १४:८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताउनुभएको छ ।

आज मङ्गलवार काठमाण्डाैमा भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न नेपालले ४५ प्रतिशत वन/जङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने बताउनुभयो । नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्नका लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रूपमा स्थापित गरिरहेको उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘नेपालले ४५ प्रतिशत जमिनमा जङ्गल स्थापित गरिसकेकाे छ । सन् १९९० देखि ३० प्रतिशत रहेकोमा अहिले ४५ प्रतिशत पुर्‍याएका छौँ । नेपालले अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्ने काम गरिरहेकाे छ । यसलाई विश्वले प्रशंसा गर्नुपर्छ । अहिले नेपालको जलवायुसम्बन्धी चुनौती भनेको कार्बन उत्सर्जन शून्य बनाउन सक्छ कि सक्दैन भन्ने होइन । नेपालले त्याे गर्छ । नेपालले कामबाट नै बताइसकेकाे छ ।’

अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न गाडीसमेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गर्नुभयो । उहाँले सन् २०४५ भित्र विशुद्ध शून्य कार्बन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शङ्का नराख्न आग्रह गर्नुभयो । नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या कार्बन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै उहाँले अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताउनुभयो । विकसित देशले गरेकाे कार्बन उत्सर्जनबाट नेपालका हिमालकाे हिउँ पग्लिरहेकाे भन्दै उहाँले जलवायु परिवर्तनबाट परेकाे असर न्यूनीकरण गर्नका लागि विकसित देशले नेपाललाई आर्थिक सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘नेपालले कार्बन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिवर्तनकाे प्रभावबाट नेपाल मुक्त हुँदैन । त्यसका लागि धेरै कार्बन उत्सर्जन गरिरहेका देशहरूले पनि प्रतिबद्धता पूरा गर्नुपर्छ ।नेपालका हिमालकाे हिउँ पग्लिनुकाे कारण अन्य देशले गरेकाे कार्बन उत्सर्जनले हाे । जलवायु परिवर्तन न्यूनीकरणको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्थाहरूले नेपालले जलवायु परिर्वतनको ठूलो असर भोगिरहेको कुरा सम्मेलनमा राखिदिनुपर्छ ।’

अर्थमन्त्रीले सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने गरी जलविद्युतमा लगानी भइरहेको बताउनुभयो ।

अन्तिम अपडेट: साउन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया