विपन्न नागरिक उपचार निर्देशिका जारी : कडा रोगको उपचारका लागि १ सय २० अस्पताल तोकियो

 मंसिर १४, २०८० बिहीबार ७:४१:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - सरकारले विपन्न नागरिकको कडा खालका रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताललाई तोकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८०’ मा विपन्न नागरिकलाई आठ प्रकारका कडा रोगको उपचारका लागि देशभरिका एक सय २० अस्पताल तोकेको हो । तोकिएका अस्पतालमा सरकारी, सामुदायिक र निजी अस्पताल रहेका छन् ।

निर्देशिकाअनुसार गरिब, विपन्न नागरिकलाई आठ प्रकार कडा रोगको उपचारमा सहुलियत प्रदान गरिने उल्लेख छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार विपन्न नागरिकको उपचार स्वास्थ्य बीमा कार्यक्रमले गर्दै आए पनि अहिले बीमा कार्यक्रम प्रभावकारी नभएको गुनासोपछि पुनःनिर्देशिका जारी गरेर सेवालाई निरन्तरता दिइएको छ । उहाँले बिरामीलाई पायक पर्ने गरी अस्पताल तोकिएको पनि जानकारी दिनुभयो ।

कोशीका १५, मधेसका नौ, बाग्मतीका ६०, गण्डकीका १५, लुम्बिनीका १६, कर्णालीका दुई र सुदूरपश्चिम प्रदेशका तीन अस्पताल तोकिएका छन् । निर्देशिकामा मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमियाका रोगको उपचारका लागि सहुलियत दिइने उल्लेख छ । मुटु प्रत्यारोपणका लागि चार लाख र औषधिका लागि एक लाख, मुटुसम्बन्धी अन्य रोगका लागि एक लाख दिने उल्लेख छ ।

यस्तै, कुनै पनि क्यान्सर, पार्किन्सन्स, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमियालगायतका रोगका लागि उपचार खर्च एक लाख उपलब्ध गराउने कार्यविधिमा उल्लेख गरिएको छ । सरकारले तोकिएको सहुलियत सीमाभित्र रहेर ती कडा खालका बिरामीलाई औषधि, औषधिजन्य सामग्री, प्रयोगशाला सेवा, शल्यक्रिया, शय्या उपलब्ध गराइने उहाँले बताउनुभयो ।

सरकारले विपन्न नागरिक औषधोपचार कार्यक्रम सञ्चालनका लागि मन्त्रालयको कूल बजेटको शून्य दशमलव पाँच प्रतिशत रकम छुट्याएको छ ।

विपन्न बिरामी नागरिकले कडा रोगको उपचार सहुलियत लिनका लागि वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । विपन्न नागरिकलाई उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रभावकारी व्यवस्थापनका लागि अस्पतालले छुट्टै सम्पर्क केन्द्र स्थापना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकामा कुनै एक रोगको औषधोपचार सहुलियत प्राप्त गरिसकेको व्यक्तिले त्यही रोगका लागि औषधोपचार सहुलियत सुविधा लिन नपाउने भएका छन् । यस्तै, कुनै एक रोगको उपचारमा सहुलियत प्राप्त गरेको व्यक्तिले अर्को रोगको उपचारका लागि सहुलियत प्राप्त गर्न सक्नेछन् ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया