नारायणगढ–मुग्लिन खण्डमा निर्माण भएका दुई वटा पुल सञ्चालनमा

 मंसिर १४, २०८० बिहीबार ७:५८:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डाै - नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा आएका छन् । लामो बालुवा र डुम्रे खोलामा निर्माण गरिएका पुल सञ्चालनमा आएका हुन् ।

यससँगै दुईवटै पुल भएर गाडी गुड्न थालेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का इन्जिनियर विजय दराईले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पाँचवटा पुल सञ्चालनमा आइसकेका छन् ।

सडक खण्डका १९ मध्ये पहिलो चरणमा पाँच पुल निर्माण भएका हुन् । सेती दोभानको पुल यसअघि नै निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको दराईले बताउनुभयो । अबको केही दिनमा टोपेखोला र चिसेन्जीको पुलसमेत सञ्चालनमा ल्याउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

निर्माणाधीन पुलमध्ये आठ वटा पुल दुई महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको उहाँले बताउनुभयो । दुई महिनाभित्र जुगेडी, सिमलताल, रिद्धी, भोर्ले, नाम्सी, टोपे, कालीखोला र खहरेमा निर्माण भइरहेका पुल सञ्चालनमा आउने छन् । खहरे दुई र तुइन खोलामा भने पुल निर्माण हुन समय लाग्ने भएको छ ।

खहरेको पुल निर्माणको ५० प्रतिशत काम सकिएको छ भने तुइन खोलामा निर्माणको काम अघि बढ्न सकेको छैन । तुइन खोलामा पहाड काट्न समस्या भएपछि काम रोकिएको हो ।

आयोजनाले अहिले भारतबाट विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी गरेको छ । अर्को महिनासम्ममा विस्फोटक पदार्थ ल्याएर पहाड फोर्ने तयारी भइरहेको आयोजनाका सूचना अधिकारी कृष्ण आचार्यले बताउनुभयो । बारुद राख्नका लागि नेपाली सेनाले बङ्करको निर्माण गर्ने काम गरिरहेको छ । विश्व बैंकको सहयोगमा २०७६ चैतदेखि पुल निर्माण थालिएको थियो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया