प्रेस काउन्सिलद्वारा थप १८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिस

 मंसिर १८, २०८० सोमबार ८:५१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभइ अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई आवश्यक कारबाहीको लागि सिफारिस गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानस भ्रम फैलाउने, कुरीति एवम् अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्ने माथि कारबाही प्रक्रिया अघि बढाइएको हो । 

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडियाअन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि सञ्चार माध्यमको आवरणमा नागरिकलाई त्रसित र आतङ्कित गर्ने सामग्री सम्प्रेषण गरेको भन्दै गएको ८ गते युट्युबसहितका १७ वटा मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधिएको थियो । कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरी काउन्सिलले मङ्सिर पहिलो हप्ता केही सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीका विषयमा कारबाही अघि बढाइएकोमा धेरैजसोबाट आगामी दिनमा सच्चिने प्रतिबद्धतासहित स्पष्टीकरण पेस भएको जनाइएको छ ।

काउन्सिलले हिंसा, त्रास एवम् द्वन्द्वलाई प्रश्रय पुर्‍याउने, प्रायोजित एवम् पक्षपोषणयुक्त, घृणास्पद अभिव्यति एवम् वैयक्तिक गोपनीयताप्रतिकूल सामग्री सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गरेको छ ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया