विदेशी ब्याट्सम्यान मन पर्छ भन्नेलाई भारतमा नबस्नू भनेपछि कोहलीको मजाक उडाइयो

 कात्तिक २२, २०७५ बिहिबार १६:११:१८ | एजेन्सी
unn.prixa.net

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीको एउटा बयान निकै विवादित बनेको छ । बुधबार कोहलीले भनेका थिए, ‘जसलाई विदेशी ब्याट्सम्यान मन पर्छ, उनीहरु भारतमा नबसे हुन्छ ।’

यही भनाईका कारण कोहली सामाजिक सञ्जालमा निकै आलोचित भएका छन् । 

मानिसहरुले कोहलीको कडा आलोचना मात्रै गरेका छैनन्, कोहलीले पहिले पहिले आफूलाई मन पर्ने विदेशी खेलाडीका बारेमा गरेको कुराकानी पनि शेयर गरेका छन् । 

१९८८ मा जन्मिएका विराट कोहलीले सन् २००८ मा भारतका लागि पहिलो वान डे म्याच खेलेका थिए । त्यतिबेला उनले आफूलाई दक्षिण अफ्रिकी खेलाडी हर्शल गिब्स मन पर्ने बताएका थिए । 

विराट कोहलीको त्यो भिडियो शेयर गर्दै सामाजिक कार्यकर्ता तहसीन पूनावाला ट्वीट लेख्छन्, ‘त्यसो भए के विराट कोहलीलाई दक्षिण अफ्रिका पठाउनु पर्ने थियो त । तर थोपरिएको राष्ट्रवाद र अहिलेको जस्तो पागलपन त्यतिबेला थिएन ।’

धेरैले डेक्कन क्रोनिकलको समाचार सामाजिक सञ्जालमा शेयर गरेका छन् जसमा कोहलीले आफ्लाई मन पर्ने विदेशी खेलाडीका रुपमा कुरा गरेका छन् ।

सन् २०१६ मा छापिएको यो खबरमा भारतीय कप्तान विराट कोहलीले इंग्ल्याण्ड क्रिकेट बोर्डसँग आफूलाई न्यूजिल्याण्डका केन विलियम्सन तथा अष्ट्रेलियाका डेभिड वार्नरका अलावा इंग्ल्याण्डका जो रुट मन पर्ने बताएका थिए । 

त्यस्तै सन् २०१८ मा विराट कोहलीले स्विस टेनिस खेलाडी रोजर फेडरर आफूलाई मन पर्ने विदेशी खेलाडी भएको बताएका थिए । 

बुधबार विराट कोहलीको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भयो जसमा उनले विदेशी बयाट्सम्यान मन पराउनेहरुले भारत छाडे हुने बताएका थिए । 

त्यो भिडियो उनको जन्मदिनमा लन्च गरिएको एपका लागि तयार पारिएको थियो । यो भिडियोमा विराट ट्विटर र इन्स्टाग्राममा आफूलाई प्राप्त सन्देश पढिरहेका छन् । त्यसै क्रममा उनले एउटा सन्देश पढ्छन् जसमा कसैले उनलाई ‘ओभररेटेड’ खेलाडीको दर्जा दिन्छन् । ती प्रयोगकर्ता लेख्छन्, ‘तपाईँ ओभररेटेड खेलाडी हुनुहुन्छ । व्यक्तिगत रुपमा भन्ने हो भने तपाईँ मलाई खास लाग्दैन । मलाई भारतीय ब्याट्सम्यानको तुलनामा ब्रिटिस र अष्ट्रेलियाली ब्याट्सम्यान मन पर्छन् ।’

 

यसको जवाफमा विराट कोहली भन्छन्, ‘मलाई लाग्छ तपाईँ भारतमा बस्नु हुँदैन । कहीँ अन्तै बस्नु पर्ने । तपाईँ हाम्रै देशमा बसेर अरु देशलाई किन मन पराउनुहुन्छ ? तपाईँ मलाई मन पराउनुहुन्न, केही छैन । तर आफ्नै देशमा बसेर बाहिरको कुरा मन पराउनुपर्छजस्तो भने मलाई लाग्दैन । तपाईँ आफ्नो प्राथमिकता तय गर्नुहोस् ।’

 

विदेशी ब्राण्ड र विराट

केही व्यक्तिले सामाजिक सञ्जालमा इटाली गएर विवाह गर्ने र विदेशी ब्राण्डको प्रचार गर्ने विराटलाई अरुलाई त्यसो भन्ने नैतिक अधिकार नै नभएको बताएका छन् । आकाश बनर्जी लेख्छन्, ‘सायद नोभेम्बर महिनामा विराट कोहली केही भएको हुनुपर्छ । यही महिनामा उनले नोटबन्दीलाई भारतीय इतिहासको सबैभन्दा राम्रो कदमको संज्ञा दिएका थिए ।’

 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया