रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय रहेको जानकारी आएको छ : प्रधानमन्त्री

 मंसिर २५, २०८० सोमबार १५:४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ ।

आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले कोही भिजिट भिसा, कोही अध्ययन भिसामा रुसमा पुगेका २ सय जना नेपाली रुसी सेनामा भर्ती भएको जानकारी पाएको र अहिले उनीहरूको अध्ययन र खोजी भइरहेको बताउनुभयो । उहाँले इजरायलमा प्यालेस्टिनी विद्राेही समूह हमासकाे आक्रमणमा बेपत्ता भएका विपिन जोशीको फिर्तीका लागि अन्तिम प्रक्रियातिर बढिरहेको पनि उल्लेख गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘रुसी सेनामा २ सय जना नेपाली भर्ना भएकाे औपचारिक जानकारी आएकाे छ । उनीहरूकाे अध्ययन, खाेजी भइरहेकाे छ । काेही पढ्नका लागि, काेही भिजिट भिसामा गएका नेपाली रुसी सेनामा भर्ती भएका रहेछन् । रुसी सेनामा भर्ती भएका नेपाली केही युक्रेनको कब्जामा रहेका र केही युक्रेनी सेनाकाे कब्जामा रहेका जानकारी आएको छ ।’

यस्तै प्रधानमन्त्रीले सरकारमाथि प्रहार गर्ने षड्यन्त्र भैरहेको समेत बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन लागेपछि सरकारमाथि अर्को ठाउँबाट प्रहार गर्न खोजिएको दाबी गर्नुभयो । उहाँले राम्रा कामलाई दबाउने र हुँदै नभएका विषयलाई प्रचार गर्ने प्रवृत्ति हाबी भएको टिप्पणी गर्नुभयाे ।

प्रचण्डले एनसेलकाे शेयर खरिद–बिक्री प्रकरणलाई लिएर गलत व्याख्या र प्रचार गरिएकोमा असन्तुष्टिसमेत जनाउनुभएको छ । नागरिकलाई तथ्यगत र सही सूचना दिनुपर्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया