एनसेल प्रकरण : ‘छानबिन समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमा असर पर्दैन’ – प्रधानमन्त्री

 पुस ३, २०८० मंगलबार १६:५३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन गर्न गठित समितिले दूरसञ्चार प्राधिकरणको अधिकारमाथि कुनै हस्तक्षेप नगर्ने बताउनुभएको छ ।

आज मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले दूरसञ्चार प्राधिकरणको नियामकीय अधिकारमा कुनै हस्तक्षेप नगर्ने बताउनुभएको हो । सांसदहरूले एनसेलकाे शेयर खरिद–बिक्रीबारेकाे छानबिन प्राधिकरण आफैँले गर्नसक्ने भए पनि समिति बनाइएको भन्दै समितिको काम, कारबाहीप्रति आशङ्का व्यक्त गरेका थिए । जवाफमा प्रधानमन्त्रीले एनसेल प्रकरणमा प्राधिकरणले प्रचलित कानुनबमोजिम भए/नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने बताउनु भयो । प्राधिकरणलाई कारबाही गर्न कसैले नरोकेको र समिति बनाएर रोक्ने मनसाय पनि नराखिएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘नियामक निकाय हुँदाहुँदै सरकारले किन छुट्टै समिति बनाउनुपर्‍याे भन्ने कुराकाे जवाफमा म छोटोमा भन्छु– नियामक निकायले नियमन गर्ने सम्बन्धमा छुट्टै कानुनी व्यवस्था छ । त्यसअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलकाे शेयर खरिद–बिक्री प्रचलित कानुनबमोजिम भए/नभएको सम्बन्धमा नियमन र कारबाही गर्ने नै छ । प्राधिकरणकाे अधिकार रोक्ने मनसाय राखेको पनि छैन । समितिको काम, कारबाहीबाट नियामकको नियामकीय अधिकारमा कुनै हस्तक्षेप र असर पार्दैन ।’

प्रचण्डले एनसेलकाे शेयर खरिद–बिक्री प्रक्रियामा राजस्व छली, नेपाल सरकारमा स्वामित्व हस्तान्तरणका सम्बन्धमा कानुनी व्यवस्थाको उल्लङ्घन भएको हो कि भन्ने चासो रहेको उल्लेख गर्दै यसबाट नेपालको समग्र दूरसञ्चार क्षेत्रको विकास र वैदेशिक लगानीमा पार्ने प्रभावका बारेमा छुट्टै अध्ययन गर्नुपर्ने आवश्यकता महसुस भएकोले समिति बनाइएको बताउनुभयो । छानबिन समितिको संयोजक टङ्कमणि शर्मा उपयुक्त पात्र भएको उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया