राप्रपाले फागुनमा आन्दाेलन गर्ने, लिङ्देनकाे अध्यक्षतामा समिति गठन

 पुस ३, २०८० मंगलबार १८:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आउँदाे फागुन महिनामा देशभर आन्दाेलन गर्ने घाेषणा गरेकाे छ । गएकाे आइतवारदेखि शुरु भएर आज मङ्गलवार सकिएकाे केन्द्रीय कार्यसमितिको बैठकले देशरभ आन्दाेलन गर्ने घाेषणा गरेकाे प्रवक्ता एवम् प्रचार विभाग प्रमुख माेहनकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

बैठकले पुस, माघमा देशभर सभा र तयारीका काम गर्ने निर्णय पनि गरेकाे प्रवक्ता श्रेष्ठले बताउनुभयाे । फागुनमा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्न निर्णय गरेको छ । आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरेकाे श्रेष्ठले बताउनुभयाे ।

यस्तै बैठकले डा. धवलशमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष नीलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको छ ।

बैठकमाकोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदनलगायत प्रदेश कार्यसमितिका प्रतिवेदन परिमार्जनसहित पारित गर्ने निर्णय भएको छ । बैठकले जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावित परिवारलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

बैठकले एनसेलकाे शेयर खरिद–बिक्रीबारे उच्चस्तरीय छानबिन गर्न माग गरेको छ । त्यस्तै रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई फिर्ता गर्न तथा हमासको कब्जामा रहेका विपिन जोशी एवम् युक्रेनको नियन्त्रणमा रहेका नेपालीकाे शीघ्र रिहाइको प्रभावकारी कुटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

राप्रपाले बिग्रँदो अर्थतन्त्र, बेरोजगारी, आर्थिक मन्दी, युवा शक्तिको विदेश पलायन, भष्ट्राचारलगायतका जनजीविकाका मुद्दा उठाएर आन्दोलन गर्न लागेको हो । त्यस्तै राजसंस्था, सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीका लागि दबाब सिर्जना गर्न आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया