जहाज खरिदमा कुनै कमजोरी नहोस् : प्रधानमन्त्री

 पुस ८, २०८० आइतबार १७:३७:८ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जहाज खरिद प्रक्रियामा कुनै पनि त्रुटि र विवाद नहुने गरी पारदर्शी ढङ्गले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ तथा छलफल कार्यक्रममा उहाँले जहाज खरिद प्रक्रियालाई पारदर्शी बनाउन निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यस पटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही, त्रुटिरहित र पारदर्शी हुनुपर्छ । यस पटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठुन्, कुनै त्रुटि नहोस् ।’ हाम्रा कतिपय नीति नियम पर्यटकमैत्री नभएकाले त्यसलाई तत्काल बदल्ने प्रक्रिया अगाडि बढाउनु जरुरी रहेका उहाँको भनाइ थियो ।

‘पर्यटकका लागि सहज वातावरण बनाउनेतर्फ सबैले सोचौँ । तपाईँहरूले प्रस्ताव ल्याउनुस्, निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौँ । पर्यटकीय क्षेत्रमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ । यसमा पनि सरकार लचिलो हुनुपर्छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थल प्रभावकारीरूपमा सञ्चालन हुन नसकेको बताउँदै आउँदा दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले पर्यटकका लागि निषेधित क्षेत्र घोषणा गरिएकोमा त्यसको समाधान खोज्नुपर्ने, भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कुटनीतिक पहल लिनुपर्ने बताउनुभयो ।

छलफलमा खानेपानीमन्त्री महेन्द्रराय यादव, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराती, राज्यमन्त्री सुशीला श्रीपाली, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य, संस्कृति सचिव दीपक काफ्ले, अर्थसचिव कृष्णहरि पुष्करलगायतले आ–आफ्नो मन्त्रालय र जिम्मेवारीसँग सम्बन्धित विषयमा धारणा राख्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया