एमालेले राष्ट्रिय सभाकाे १९ वटै सिटमा उम्मेदवारी दिने

 पुस २०, २०८० शुक्रबार १८:२८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा सदस्य चुनावमा सबै सिटमा उम्मेदवारी दिने भएको छ । आज शुक्रवार ललितपुरको च्यासलमा रहेकाे पार्टी मुख्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले राष्ट्रिय सभाको १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय सभा चुनावका लागि प्रदेश कमिटीबाट सिफारिस भई आएका नामहरूको बारेमा प्रारम्भिक छलफल गर्दै सबै सिटका लागि उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले छ जनालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत पनि गरेको छ । प्रदेश कमिटीको अध्यक्षबाट बाहिरिएका कोशी प्रदेशका पाँच जना नेताहरू– कोशी प्रदेशका तुलसीप्रसाद न्यौपाने, बाग्मती प्रदेशका केशवराज पाण्डे, कर्णाली प्रदेशका विनोद शाह, सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी र मधेस प्रदेशका राम अवतार यादवलाई एमालेले केन्द्रीय सदस्यमा मनोनित गरेको हो । यस्तै लामो समयदेखि पार्टी काममा रहेका झापा जिल्ला कमिटीका अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय बैठकले गरेको महासचिव पोखरेलले बताउनुभयो ।

त्यसैगरी एमालेले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणको क्रममा भएका सम्झौताबारे पार्टीसँग कुनै छलफल नगरेकोमा आपत्ति जनाउँदै त्यसबारे स्पष्ट पार्न पनि सरकारसँग माग गरेको छ ।

महासचिव पोखरेलले भन्नुभयो, ‘भर्खरै भारतीय परराष्ट्रमन्त्री नेपाल भ्रमण गरेर फर्कनुभएको छ । दुई देशबीचको बैठकमा के–के विषयमा छलफल भयो र के–के विषयमा सम्झौता भए भन्ने कुरा सत्तापक्षले प्रतिपक्षसँग परामर्श नगरेकाे कुराप्रति बैठकले गम्भीर चिन्ता प्रकट गरेको छ । राष्ट्रियताको प्रश्नहरूमा सत्तापक्षले प्रतिपक्षलाई विश्वासमा लिएर मात्रै काम गर्नुपर्नेमा त्यसाे गरेन । याे विषयमा स्पष्ट पार्न सरकारसँग माग गरेका छाैँ ।’

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया