भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालको २ स्थान सुधार, तर धेरै भ्रष्टाचार हुने देशहरूकै सूचीमा

 माघ १६, २०८० मंगलबार १५:१२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भ्रष्टाचारको विश्वव्यापी सूचकाङ्कमा नेपालले दुई स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको सन् २०२३ को विश्वव्यापी भ्रष्टाचारको सूचकाङ्कमा नेपाल ३५ अङ्कसहित १ सय ८ औँ स्थानमा रहेको हो ।

सन् २०२२ मा नेपाल ३४ अङ्कसहित १ सय १० औँ स्थानमा थियो । १ सय ८० वटा देश सहभागी यो सूचकाङ्कमा १ सय नम्बर पाउने देश अति स्वच्छ र शून्य नम्बर पाउने देश अति भ्रष्ट हुन्छ । यस वर्षको विश्वव्यापी औसत अङ्क ४३ रहेकोमा नेपालले ३५ नम्बर पाएको छ ।

नेपाल भ्रष्टाचार व्याप्त देशहरूकै सूचीमा रहेको छ । भ्रष्टाचारविरुद्धको जनचाहना सम्बोधन गर्न सरकार अति गम्भीर हुन जरुरी रहेको ट्रान्सपरेन्सीले जनाएको छ । यसका लागि संसदमा विचाराधीन रहेका भ्रष्टाचारविरोधी कानुनलाई फितलो बनाउन भएका प्रयास रोक्न, राजनीतिक व्यक्तिलाई पनि भ्रष्टाचारका मुद्दामा निष्पक्ष अनुसन्धान र कारबाही गर्न, सार्वजनिक पदाधिकारीको सम्पत्तिको जाँच गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न र मन्त्रिपरिषद्को नीतिगत निर्णयका नाममा भ्रष्टाचारको अनुसन्धानबाट मुक्ति पाउने व्यवस्थाको अन्त्य गर्न ट्रान्सपरेन्सीले नेपाल सरकारसँग माग गरेको छ ।

विश्वका दुई तिहाइ देशले ५० भन्दा कम अङ्क पाएका छन् । अर्थात् दुई तिहाइभन्दा धेरै देशमा भ्रष्टाचार धेरै रहेको छ । ट्रान्सपरेन्सीले पछिल्लो १ दशकमा सार्वजनिक क्षेत्रको भ्रष्टाचार नियन्त्रण हुने कार्यमा प्रगति हुन नसकेको जनाएको छ ।

सन् २०२३ मा डेनमार्कले ९० अङ्क प्राप्त गरेर सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेको छ भने ११ अङ्कसहित सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देश रहेको छ ।

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया