दलहरु विभिन्न अभियानमार्फत् गाउँठाउँ पुग्ने होडबाजीमा

 माघ २०, २०८० शनिबार १०:२५:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विभिन्न राजनीतिक दलहरु थरीथरीका अभियान लिएर नागरिकको माझमा पुग्ने होडबाजीमा लागेका छन् । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले गएको १६ गतेदेखि ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ । देशभरका वडा केन्द्रित यो अभियान आउँदो २६ गतेसम्म चल्ने कांग्रेसले जनाएको छ ।

पार्टीको कार्यक्रम शुरु हुुनु पहिले नै कांग्रेस महामन्त्री गगन थापाले तराईको हुलाकी राजमार्ग केन्द्रित अभियान थाल्नुभएको छ । गएको १३ गते झापाको छोटी भन्सारमा शुरु भएको उहाँको यात्रा बारा पुगेको छ । १३ दिने यात्राका क्रममा महामन्त्री थापाले हुलाकी राजमार्ग अन्तर्गतका २१ जिल्लाका पार्टी कार्यकर्ता र नागरिकका आवाज सुन्ने बताउनुुभएको छ ।

हिजो बाराको आदर्श कोतवाल गाउँपालिकामा भएको कार्यक्रममा उहाँले मधेशमा सिँचाइको उचित व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बाराको निजगढमा चाँडै अन्तर्राष्ट्रिय विमानस्थल बन्ने विश्वास पनि व्यक्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पनि भोलिदेखि आयोजना केन्द्रित अभियान सञ्चालन गर्दैछ । आफूलाई नयाँ र अरु दलभन्दा फरक रुपमा दाबी गर्दै आएको रास्वपाले यसअघि मध्य पुसमा तीनदिने ‘नारायणगढ–बुटवल पदयात्रा’ गरेको थियो । भोलिदेखि अर्को अभियान मेलम्ची खानेपानी आयोजनाबाट शुरु हुने भएको छ । रास्वपाले भोलि माघ २१ गतेदेखि चैत २१ गतेसम्म २१ वटा आयोजनामा दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको हो ।

यही प्रकृतिको कार्यक्रम अरु दलहरूले यसअघि नै गरिसकेका छन् । अघिल्लो वर्ष आमचुनावको तीन महिना नबित्दै ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको एमालेले यसपालि मङ्सिर १४ गतेदेखि पुस १ गतेसम्म ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ गरेको थियो ।

अहिले सरकारको नेतृत्वमा रहेको संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रले पनि चार महिना लामो ‘रूपान्तरण अभियान’ चलाइसकेको छ ।

गएको वर्ष भएको आमचुनावमा राष्ट्रिय मान्यतासमेत नपाएको नेकपा एकीकृत समाजवादीले पनि चार महिनाअघि ‘समाजवाद जागरण यात्रा’ गर्‍याे ।

दलहरुले नागरिकको पीरमर्का बुुझ्न र विकास निर्माणको कामलाई समयमै गर्नको लागि दबाब दिन यस्ता अभियान सञ्चालन गरेको बताउँदै आएका छन् । राजनीतिक विश्लेषक एवम् त्रिभुवन विश्वविद्यालयको राजनीतिशास्त्रका उपप्रध्यापक अर्जुनध्वज अर्याल भने यस्ता अभियान अर्को चुनावको लागि तयारी भएको बताउनुहुन्छ । तर दल र नेताहरु यसरी गाउँगाउँ पुग्नु सकारात्मक भएकाले नागरिकले स्फूर्त रुपमा आफ्ना समस्या र प्रश्न सुनाउनुपर्ने उहाँको सुुझाव छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया