'गाजामा ज्यान गुमाउने, घाइते र बेपत्ता हुनेकाे सङ्ख्या एक लाखभन्दा बढी'

 माघ २०, २०८० शनिबार १८:३६:५ | एजेन्सी
unn.prixa.net

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले युद्धका कारण गाजामा ज्यान गुमाउने, घाइते र बेपत्ता हुनेकाे स‌ङ्ख्या एक लाखभन्दा धेरै रहेकाे जनाएकाे छ । यो सङ्ख्या गाजाको २३ लाख जनसङ्ख्याको चार दशमलव तीन प्रतिशत रहेकाे डब्ल्यूएचओले जनाएकाे छ । 

जेरूसेलमबाट भिडियो लिङ्कमार्फत संयुक्त राष्ट्रसङ्घको साप्ताहिक पत्रकार सम्मेलनमा बोल्दै डब्ल्यूएचओका प्रतिनिधि रिचार्ड पिपरकोर्नले बाँकी जनसङ्ख्याले सुरक्षा, खाना, स्वास्थ्य र न्यानोपनजस्ता आधारभूत आवश्यकता पूरा गर्न सङ्घर्ष गरिरहेका बताउनुभयो ।

गाजामा रहेका ३६ अस्पतालहरूमध्ये १३ वटा मात्र आंशिक रूपमा सञ्चालनमा रहेका र ७३ प्राथमिक स्वास्थ्य केन्द्रहरूमध्ये १३ वटा मात्र सञ्चालनमा रहेका डब्ल्यूएचओले जनाएको छ । युद्धबाट घाइते भएका तथा अरु रोगका बिरामीहरुले गाजामा उपचार पाउन असम्भव जस्तै हुन थालेको छ । कतिपय स्वास्थ्यकर्मीले तीन महिनादेखि लगातार काम गरिरहेका छन् ।

एम्बुलेन्स नहुँदा बिरामीहरूलाई गाडामा बोक्नुपर्ने बाध्यता रहेको डब्ल्यूएचओले जनाएकाे छ । पाँच वर्षमुनिका एक लाख ६० हजार बालबालिका झाडापखालाबाट पीडित रहेका भए पनि उपचार गर्नै नसकिएको डब्ल्यूएचओले जनाएको छ ।     

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया