बालकुमारी घटनाबारे सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुख घिमिरेको रुलिङ

 फागुन १०, २०८० बिहिबार १५:१६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सभामुख देवराज घिमिरेले बालकुमारी घटना प्रकरणको बारेमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रुलिङ गर्नुभएको छ । आजको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारले बालकुमारी घटना प्रकरणमा बेवास्ता गरेको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेर संसद् अवरोध गरेसँगै सभामुख घिमिरेले सरकारलाई घटनाको बारेमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारका तीन जना मन्त्रीको राजीनामा माग गरेको छ । बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्नुभएको छ ।

त्यस्तै अख्तियारको छानबिनमा परेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीको रामग्रामको जग्गा भाडामा लगाउने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराँती पनि पदमा बस्न नमिल्ने उहाँले बताउनु भयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि कानुन विपरीत ठहरिएको रामग्रामको कार्यक्रमा उद्घाटनमा गएको भन्दै त्यसको जवाफ पनि प्रधानमन्त्रीले दिनुपर्ने बताउनु भयो । उहाँले तीन मन्त्रीले राजीनामा नगरेमा एमाले चुप लागेर नबस्ने चेतावनी दिनुभयो ।

बैठकमा  राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्ष दलले संसद्मा राखेका विषयहरुको सुनुवाइ नभए संसद् र सडक अवरुद्ध गर्ने चेतावनी दिएको छ । रास्वपाका सांसद विराजभक्त श्रेष्ठले सरकार संसद्प्रति जवाफदेही नभएको आरोप लगाउनुभयो ।

उहाँले बालकुमारी घटनाको अध्ययन प्रतिवेदन अनुसार दोषीलाई किन कारबाही नगरेको भन्ने प्रश्न गर्नुभएको छ । श्रेष्ठले प्रतिपक्षको कुरा नसुनिएमा आन्दोलन गर्ने चेतावनी दिनुभयो । यस्तै उहाँले मिटरब्याज पीडितहरुले न्याय नपाएर आन्दोलन गरे पनि सरकारले न्याय दिन नसकेको भन्दै ध्यानाकर्षण गराउनुभयो ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया