महिला तथा बालिकामाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन तालिबानलाई राष्ट्र सङ्घको आग्रह

 फागुन २५, २०८० शुक्रबार १८:३२:१ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – महिला तथा बालिकाहरूमाथि लगाइएको प्रतिबन्ध फिर्ता लिन संयुक्त राष्ट्र सङ्घले तालिबानलाई आग्रह गरेको छ । अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घका महासचिवका विशेष प्रतिनिधि रोजा ओटुनबायेभाले महिला तथा बालिकाहरूमाथिको प्रतिबन्ध फिर्ता लिन आह्वान गर्दै प्रतिबन्ध जति लामो समयसम्म रहन्छ त्यति नै धेरै नोक्सान हुने चेतावनी दिनुभएको टोलो न्युजले जनाएको छ ।

अहिले धेरै महिला सार्वजनिक ठाउँमा जान डराउने गरेका उहाँले बताउनुभयो । यसैबीच राष्ट्र सङ्घमा अमेरिकाका उपस्थायी प्रतिनिधि रोबर्ट वुडले कानुनीरूपमा हिजाब लगाउन आवश्यक नरहेका महिलाहरूलाई पनि तालिबानले हिरासतमा लिएको दाबी गर्नुभएको खबरमा उल्लेख छ ।

अफगानिस्तानमा मानव अधिकारसम्बन्धी राष्ट्र सङ्घका विशेष प्रतिवेदक रिचर्ड बेनेटले गएको वर्ष डिसेम्बरमा तालिबानसँग गैरसरकारी सङ्गठनहरूमा महिलाहरूलाई काम गर्न लगाइएको प्रतिबन्ध हटाउन आग्रह गर्नुभएको थियो । उहाँले अर्थतन्त्रका लागि महिलाहरू महत्त्वपूर्ण भएको र अफगान समाजको कल्याण तथा प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

तालिबानले मिडिया स्वतन्त्रतामा प्रतिबन्ध लगाएको छ भने महिलाहरूलाई पार्क र जिमजस्ता सार्वजनिक ठाउँमा जान रोक लगाएको छ । यसबाट अफगानिस्तानको अर्थतन्त्र तहसनहस भएको छ भने मानवीय सङ्कटसमेत बढेको छ । सत्ता कब्जा गरेदेखि नै तालिबान नेतृत्वले अफगान महिला र बालिकाको शिक्षा तथा रोजगारसम्मको पहुँचमा प्रतिबन्ध लगाउने कडा आदेश जारी गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया