हैटीका प्रधानमन्त्री हेनरी राजीनामा दिन सहमत, देशवासीलाई शान्त रहन आग्रह

 फागुन २९, २०८० मंगलबार १५:१५:५४ | एजेन्सी
unn.prixa.net

हैटीका प्रधानमन्त्री एरियल हेनरीले देशमा बढ्दो दबाब र हिंसापछि राजीनामा दिन सहमत हुनुभएको छ । हैटीमा राजनीतिक सङ्क्रमणबारे छलफल गर्न जमैकामा क्षेत्रीय नेताहरूले भेटघाट गरेपछि प्रधानमन्त्री हेनरी राजीनामा दिन सहमत हुनुभएको बीबीसीले जनाएको छ ।

सशस्त्र समूहले स्वदेश फर्किनबाट रोकेपछि प्रधानमन्त्री हेनरी अहिले पुर्ताे रिकोमा हुनुहुन्छ । आफ्नो राजीनामाको घोषणा गर्दै उहाँले एक भिडियो सम्बोधनमा हैटीवासीलाई शान्त रहन आग्रह गर्नुभएको छ । उहाँले सत्ता हस्तान्तरणका लागि एक अन्तरिम परिषद्को स्थापनापछि आफू नेतृत्व सरकारले तुरुन्त राजीनामा दिने बताउनुभएको खबरमा उल्लेख छ ।

पूर्वराष्ट्रपति जोभेनेल मोइसेको हत्यापछि सन् २०२१ मा हेनरीले अन्तरिमरूपमा देशको नेतृत्व गर्नुभएको थियो तर उहाँले सुरक्षा पुनर्स्थापना गर्नुपर्ने भन्दै पटक–पटक चुनाव स्थगित गर्नुभएको थियो । पछिल्ला दिनहरूमा हतियारधारी समूहले हैटीको राजधानी पोर्ट–ओ–प्रिन्सको सडकहरू नियन्त्रणमा लिएका छन् र चुनावविनै प्रधानमन्त्री बनेका हेनरीको राजीनामा माग गरेका छन् ।

सञ्चारमाध्यमका अनुसार हैटीमा पछिल्ला दिनहरूमा सशस्त्र विद्रोह चलिरहेको छ । केही दिनअघि विद्रोहीहरूले केही जेल भत्काएर ठूलो सङ्ख्यामा कैदीलाई भगाएका थिए ।

हैटीमा बढिरहेको हिंसा र आपत्काल घोषणाको बीच अमेरिकाले आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता बोलाएको थियो । यस्तै जर्मनी र युरोपेली सङ्घले दूतावासबाट कर्मचारीलाई फिर्ता बोलाएको खबर सार्वजनिक भएको थियो ।

हैटीमा चलिरहेको हिंसाका कारण तीन लाख ६२ हजार जनाभन्दा धेरै नागरिक विस्थापित भएका खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया