प्रधानमन्त्री प्रचण्डले आज तेस्रोपटक विश्वासको मत लिँदै

 फागुन ३०, २०८० बुधबार ७:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । गएको वर्ष २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका समर्थनमा प्रधानमन्त्री भएपछि उहाँले पुस २६ गते संसदमा विश्वासको मत लिनुुभएको थियो । त्यसबेला प्रतिपक्षमा रहेको नेपाली कांग्रेस र एकीकृत समाजवादीसहितका सबै दलले उहाँलाई समर्थन गरेका थिए ।

त्यसपछि राष्ट्रपति चुनावमा प्रधानमन्त्रीले कांग्रेस लगायतका दलसँग गठबन्धन गरेपछि एमाले, रास्वपा र राप्रपाले सरकार छोड्दै समर्थन फिर्ता लिएका थिए । त्यसपछि गएको वर्ष चैत ६ गते प्रचण्डले दोस्रोपटक संसद्मा विश्वासको मत लिनुुभयो । अहिले फेरि कांग्रेससँगको गठबन्धन भत्काएर नयाँ बनाएपछि उहाँले तेस्रोपटक विश्वासको मत लिन लाग्नुुभएको हो ।

अहिले प्रधानमन्त्रीलाई एमाले, माओवादी, रास्वपा, जसपा र नेकपा एकीकृत समाजवादीको समर्थन छ । प्रतिनिधि सभामा अहिले कायम २७४ सदस्यीयमा बहुमत सिद्ध गर्न १३८ सदस्य आवश्यक पर्छ । पाँच दलीय गठबन्धनसँग प्रतिनिधिसभामा १५३ सदस्य छन् । एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० सांसद छन् ।

एमालेका टोपबहादुर रायमाझी निलम्बनमा परेको र देवराज घिमिरेले सभाको नेतृत्वकर्ताको हिसाबले मतदानमा सहभागी हुन मिल्दैन। गठबन्धनका पाँचै दलले विश्वासको मत लिन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेका छन् ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे नागरिक उन्मुक्ति पार्टीभित्र भने विवाद छ । संसदीय दलका नेता रञ्जिता श्रेष्ठले मंगलवार चारैजना सांसदलाई अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा उभिन ह्विप लगाउनुुभएको छ । तर उहाँका पतिसमेत रहेका रेशम चौधरीले कैलालीको टीकापुरमा बहुमत केन्द्रीय सदस्य जुटाएर नयाँ बनेको केन्द्रीय गठबन्धनमा नमिसिने र सरकारमा पनि नजाने निर्णय गराउनुभएको छ । निर्वाचन आयोगले रञ्जितालाई नै नागरिक उन्मुक्तिको अध्यक्षको मान्यता दिएकाले संसदीय दलको नेताका रुपमा उहाँको ह्विप आधिकारिक हुन्छ । उहाँको ह्विपअनुसार नागरिक उन्मुक्ति पार्टीका सांसदहरू कता उभिन्छन् भन्ने प्रष्ट भएको छैन ।

लोसपाले समर्थन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गरिसकेको छैन । नेपाली कांग्रेसले विपक्षमा मत दिन सांसदलाई ह्विप लगाएको छ । राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मत नदिने सङ्केत गरेको छ । स्वतन्त्र दुईजना सांसदहरु प्रभु साह र अमरेशकुमार सिंहले निर्णय गर्न बाँकी छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया