अमेरिकी राष्ट्रपति चुनावमा फेरि बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने पक्का

 फागुन ३०, २०८० बुधबार १८:१:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकी राष्ट्रपति चुनावमा फेरि पनि राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धा गर्ने पक्का भएको छ । प्राइमरी चुनावहरूबाट उनीहरू दुवै जनाले आवश्यक प्रतिनिधि सङ्ख्या जुटाएसँगै सन् २०२० मा भएको राष्ट्रपति चुनावमा प्रतिस्पर्धा गरेकै बाइडेन र ट्रम्पबीच फेरि पनि प्रतिस्पर्धा हुने भएको बीबीसीले जनाएको छ ।

७० वर्षयता पहिलो पटक अमेरिकी चुनावमा अघिल्लो चुनावकै झल्को दिने गरी उही दुई जना प्रतिस्पर्धी हुने पक्का भएको हो । सन् २०२० मा भएको राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फका उम्मेदवार बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार तत्कालीन राष्ट्रपति ट्रम्पलाई पराजित गर्नुभएको थियो ।

८१ वर्षका राष्ट्रपति बाइडेनले धेरै उमेरका कारण राष्ट्रपतिको रूपमा जिम्मेवारी वहन गर्न सक्ने क्षमताबारे प्रश्न झेलिरहेका भए पनि पार्टीले भने उहाँलाई नै पत्याएको छ । बाइडेनभन्दा चार वर्ष कान्छा ट्रम्प रिपब्लिकन दलका आधार रहेका मतदातामाझ निकै लोकप्रिय देखिनुभएको छ ।

बाइडेनले अमेरिकी अर्थतन्त्रमा देखिएका सकारात्मक प्रवृत्तिहरूको बयान गर्नुका साथै महिलाको गर्भपतन अधिकार सङ्कुचित पार्ने तथा सामाजिक कार्यक्रमहरू कटौती गर्ने प्रयासबारे सचेत हुन आह्वान गरिरहनुभएको छ । ट्रम्पले चाहिँ कडा आप्रवासन नीतिलाई आफ्नो मूल चुनावी मुद्दा बनाइरहनुभएको छ । अमेरिकाको राष्ट्रपतीय चुनाव आउँदो नोभेम्बर ५ मा हुँदै छ ।

यसैबीच गूगलले आफ्नो आर्टिफिसियल इन्टेलिजन्स (एआई) च्याटबोट जेमिनाईलाई प्रयोगकर्ताले सोध्न सक्ने चुनावसम्बन्धी कैयौँ प्रश्नहरूलाई प्रतिबन्ध लगाएको छ । गूगलले आफ्नो नीतिलाई भारतमा लागू गरिसकेको जनाएको छ । भारतमा आउँदो एप्रिलमा आमचुनाव हुँदैछ ।

एआई प्रविधिबारे थप विवादबाट बच्ने लक्ष्यका साथ कम्पनीले यस्तो कदम चालेको बताएको बीबीसीले जनाएको छ । यो वर्ष अमेरिका, बेलायत, दक्षिण अफ्रिका, भारत, रुसलगायत विश्वका विभिन्न देशमा चुनाव हुँदैछ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया