'जङ्गल सफारी' मा एउटै बाघसँग दुई पटक जम्काभेट (तस्बिरहरू)

 चैत ६, २०८० मंगलबार १६:३९:१५ | भावुक योगी
unn.prixa.net

नेपालका राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष र राष्ट्रिय वन क्षेत्र एवम् संरक्षित जैविक मार्ग क्षेत्रमा पाटे बाघ अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । पर्यटकले पाटे बाघ लगायतका वन्यजन्तु अवलोकन गरेर जान्छन् । त्यस्तै नेपालको छिमेकी देश भारतका पनि विभिन्न निकुञ्ज तथा आरक्षहरूमा पाटे बाघ अवलोकनका लागि पर्यटक जाने गर्छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिबाट हरेक पाँच वर्षमा ठूला निकुञ्ज तथा वन्यजन्तु आरक्ष अवलोकनका लागि भ्रमणमा जाने गरेका छन् । समितिबाट पाँच वर्षअघि एक सिङ्गे गैँडा र पाटे बाघ अवलोकनका लागि भारतको आसाममा रहेको काजिरङ्गा राष्ट्रिय निकुञ्ज गएको थियो ।

पन्ना टाइगर रिजर्भ ५ सय ४२ दशमलव ७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । झन्डै ३० वर्षअघि सन् १९९४ मा बाघ पाइने क्षेत्र भन्दै भारत सरकारले मध्य प्रदेशको सबैभन्दा ठूलो पन्ना टाइगर रिजर्भ घोषणा गरेको हो । ७ वर्षअघि ७० वटाभन्दा धेरै पाटे बाघ रहेको पन्ना टाइगर रिजर्भमा अहिले एक सयको हाराहारीमा रहेको अनुमान छ ।

यस वर्ष पनि बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका १९ वटा उपभोक्ता समितिका अध्यक्षहरूसहित २१ जनाको टोली भारतको मध्य प्रदेशमा रहेको पन्ना टाइगर रिजर्भ अवलोकनमा गएर फर्किएको छ । जङ्गली हात्ती, एक सिङ्गे गैँडाबाहेक पाटे बाघ, बाह्रसिङ्गे जरायो, निलगाई, चित्तल, बाँदरमात्रै रहेको पन्ना टाइगर रिजर्भ बाघका लागि प्रख्यात क्षेत्र हो ।

बाघसँग जम्काभेट ...

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्रका संरक्षणकर्मीहरू पन्ना टाइगर रिजर्भमा बिहान ७ बजे जङ्गल सफारीका लागि पुगेर टिकट काटेर भित्र प्रवेश गर्दा ८ बजिसकेको थियो । हामी चार वटा जीपमा २१ जना र साथमा गाइड र चालक गरी २९ जना थियौँ । २६ वटा जीपमा दुई सय आठ जना जङ्गल प्रवेश गरेका थिए । प्राकृतिक बासस्थानमा बाघ हेर्न पाइने भन्दै बर्दियाबाट मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति संरक्षणकर्मीहरूसहितको टोली लिएर पन्ना टाइगर रिर्जभको भ्रमणमा गएको थियो ।

जङ्गल सफारी मलाई नौलो त थिएन । तर पनि नेपालमा झैँ बाघ देख्न पाइएला कि नपाइएला भन्ने कौतुहलता थियो । जीपका चालकले बाघ देखिएको छ, साथीहरूले म्यासेज गरेका छन् भन्दै जीप दौडाए । बाघ देख्न पाइने भयो भनेर हामी सबै जना खुशी भयौँ । जङ्गलभित्रकाे झन्डै आधा घण्टाको यात्रापछि पाटे बाघ सडक किनारमा बनाइएको पानी खाने ठाउँ नजिक आउँदै थियो । बाघ भएको ठाउँ नजिकै जीप रोकियो । बाघ देख्नेबित्तिकै सफारीमा रहेका सबै बाघ भएको ठाउँमा पुगे । झन्डै २०/३० फिटको दुरीमा रहेको पाटे बाघ देखियो । हामीले मोबाइल र क्यामेरामा बाघको फोटो र भिडियो खिच्न थाल्यौँ । बाघ जुरुक्क उठेर हामीतिर फर्कियो । एकछिन हामी सबै जना डरायौँ । गाइडले हामीलाई हल्ला नगर्न भन्दै चालकलाई गाडी अघिपछि गराउन आग्रह गर्दै थिए । डराउँदै भए पनि हामीले मोबाइल र क्यामेरामा बाघकाे फोटो र भिडियो खिच्न थाल्यौँ । हामीतिर फर्किएको बाघलाई जीपका चालकले साइड दिएपछि जङ्गलभित्रको सडकमा दुवैतर्फ रहेका जीपको बीचबाटै बाघ जङ्गलतिर गयो ।

हामी जङ्गल सफारीको यात्रामा थियौँ । केहीबेरपछि त्यही बाघ अर्को ठाउँमा जम्काभेट भयो । बाघ सिकार गर्न तयारी अवस्थामा रहेको गाइडले बताए । फेरि पनि बाघ हामी चढेको जीपको झन्डै १० फिट नजिक आयो, चालकले जीप अघिपछि गरेपछि दुवैतर्फ रहेका जीपको बीचबाट बाघ गयो । बाघले जरायो ताकेर गएको रहेछ । सिकार ताकेर गएको बाघ धेरै होहल्ला भएका कारण एक्सनमा आए पनि फुरुक्कै फर्कियो र रुखमा कोपर्न थाल्यो । त्यसपछि बाघ जङ्गलभित्र पस्यो ।

हरियाली कम सुक्खा क्षेत्र बढी भएको जङ्गलभित्र बोटबिरुवाका पात झरेर सगुन, सलाई लगायतका कुकाठ र केही ठाउँमा बाँसघारी मात्रै थियो । हामी नदी किनारमा बच्चासहितको बाघ भएको ठाउँमा पुग्यौँ । नदी किनारमा डमरुसहित बघिनी खेलिरहेको अवस्थामा देख्यौँ । बच्चासहित चार वटा बाघ देखेपछि फोटो र भिडियो खिचेर हामी अगाडि बढ्याैँ । जङ्गलभित्र बाघसँगै घाँसे मैदानमा चित्तल, बाह्रसिङ्गे जरायो, बाँदर पनि देख्यौँ । तीन घण्टापछि हामी जङ्गलबाट बाहिर निस्कियौँ ।

जङ्गल सफारीका क्रममा देखिएका पाटे बाघ, बाह्रसिङ्गे जरायो, चित्तल, निलगाई, बाँदरका केही तस्बिर–

तस्बिर : भावुक याेगी

अन्तिम अपडेट: बैशाख १४, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया