युवा जनशक्ति विदेश पलायन हुँदा चितवनमा कृषि मजदुर पाउनै मुस्किल

 चैत ६, २०८० मंगलबार १५:७:१३ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – युवा जनशक्ति विदेश पलायन हुँदा चितवनमा कृषि मजदुर पाउनै मुस्किल भएको छ । व्यावसायिक खेती गर्ने मजदुरको अभावमा धेरैले कृषि व्यवसाय छाड्दै गएका छन् । पहिले पहिले कम पारिश्रमिकमा कृषि मजदुर पाउने भए पनि अहिले पाएका कामदारलाई समेत चर्काे ज्याला तिर्नुपर्ने बाध्यता छ ।

भरतपुरको अमृतनगरको युवा आधुनिक सामूहिक खेती फार्मका सचिव सुमन सुवेदीले कामदारको खोजीमा नवलपरासीको हुप्सिकोट गाउँपालिकासम्म पुगेको बताउनुभयो । तरकारीखेतीका लागि कामदार नपाएपछि खोज्न हिँड्नुपरेको उहाँले गुनासो गर्नुभयो ।

कृषि क्षेत्रमा काम गर्ने कामदारलाई बस्न र खान दिएर सीपअनुसार  १२ देखि २० हजार रुपैयाँ तलब दिने गरेको सचिव सुवेदीले बताउनुभयो । यस्तै अवस्था रहे दुई/तीन वर्षमा सबैका खेतबारी बाँझै रहने उहाँको चेतावनी छ ।

अमृतनगर क्षेत्रमा हुप्सीकोटका मात्रै एक सय जनाभन्दा धेरै कामदार आएर काम गरिरहेका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनका संयोजक लेखनाथ भुसालले जानकारी दिनुभयो । एक वर्षभन्दा बढी लामो समय बस्ने कामदारको बीमासमेत गर्ने गरी ल्याए पनि छ महिनाभन्दा नबस्ने गरेका उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया