जापानले सीपयुक्त र उच्च सीपयुक्त नेपाली कामदार लाने, उच्च सीपयुक्त कामदारले परिवार पनि जापान लान पाउने

 चैत ११, २०७५ सोमबार १४:५१:३८ | उज्यालो सहकर्मी

काठमाण्डौं – जापानले नेपालबाट दुई वर्गमा विभाजन गरेर कामदार लाने भएको छ । आउँदो अप्रिल १ तारिखबाट कामदार लाने प्रक्रिया थाल्ने गरी नेपाल र जापानबीच आज सहकार्यको समझदारीमा हस्ताक्षर भएपछि दुई वर्गमा विभाजन गरेर नेपाली कामदार जापान जाने टुङ्गो लागेको हो । 

श्रममन्त्री गोकर्ण विष्टको उपस्थितिमा दुई देशका अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत सामामिची साइगोले समझदारीमा हस्ताक्षर गर्नुभयो ।

लाने कामदार सीपयुक्त हुनुपर्ने गरी गरिएको सम्झौतामा पहिलो वर्गका कामदारका रुपमा जान चाहनेका लागि सीप र सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव आवश्यक पर्नेछ । 

यस्ता कामदारले ५ वर्ष जापानमा बस्न पाउनेछन् भने दोस्रो वर्गका रुपमा जाने कामदारमा उच्च सीप आवश्यक पर्ने र त्यस्ता कामदारले ५ वर्षको अवधिपछि पनि समय थप गरेर जापानमा बस्न पाउनेछन् । यस्तै दोस्रो वर्गका कामदारले परिवारका सदस्यहरुलाई पनि जापान लान पाउनेछन् । 

सीपयुक्त र उच्च सीपयुक्त कामदारमा कस्ता सीप आवश्यक पर्नेछ भन्ने चाहिँ दुवै देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्यदलले पछि मात्रै टुङ्गो लगाउनेछ । जापानले १४ वटा क्षेत्रमा कामदार लाने भएको हो । कृषि, नर्सिङ केयर, गाडी मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, उद्योगिक उपकरण उद्योग र इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योगमा कामदार लाने भएको हो ।

यस्तै बिल्डिङ् सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग र हवाई उद्योगमा नेपाली श्रमिक लाने समझदारीमा उल्लेख छ । 

काम परिवर्तन गर्न सक्ने

जापानले पहिलो चरणमा चार क्षेत्रमा कामदार लैजानेछ । स्वास्थ्य, उद्योग, केयरगिभर निर्सिङ र कृषी क्षेत्रमा गएका कामदारले काम परिवर्तन गर्न पनि पाउँनेछन् । त्यसका लागि तीन वटा विकल्प दिइएको छ ।

पहिलो विकल्प काम गर्दै गरेको ठाउँ परिवर्तन गर्न पाइनेछ भने दोस्रो विकल्पका रुपमा त्यही क्षेत्रको अर्को काम गर्न पाइने व्यवस्था पनि गरिएको छ । उदाहरणका लागि कृषि क्षेत्रको पशुपालनबाट माछा पालनको काममा जान पाइनेछ । तर त्यसका लागि सीप परीक्षण गरिनेछ ।

यस्तै चेस्रो विकल्पका रुपमा कामको क्षेत्र परिवर्तन गर्न पाइने सुविधा पनि कामदारलाई रहनेछ । 

पारिश्रमिक जापानी नागरिकको भन्दा कम नहुने

नेपाली कामदारले जापानी नागरिक सोसहरको सेवा सुविधा पाउने नेपालका लागि जापानी राजदूत  मासामिची साइगोले बताउनुभयो । दुई देशबीच हस्ताक्षरको प्रक्रियामा रहेको एमओसी अनुसार कामदार पठाउन म्यानपावर कम्पनीहरू रहने छैनन् ।

नयाँ भिसाका लागि कामदारले अनिवार्य सीपसहितको भाषा परीक्षा पास गर्नुपर्नेछ । दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यावसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ ।


 

2 Comments

  • युवराज

    March 25, 2019, 10:38 p.m.

    अनलाइनमा एउटा बिदेशीले भन्यो, तिमीहरु नेपाली कहिले कसैको गुलाम भएनौ, खुशी लग्थ्यो, तर अहिले तिम्रै सरकार जनतालाई किस्तामा बेचेर अरुको गुलाम बनाउन त लगेको होइन, बिदेश पलायनलाई निरुसाहित गरेर देश बिकासमा लगाउनु पर्ने होइन र? होइन, तिम्रो देश बिकास गर्न कुन देशबाट मान्छे बोलाउने हो ? भारत बाट? अनी भारतीय आए नागरिकता लिये भनेर हल्ला गर्ने ? बिचार गर्नु है ।

  • Surendra thapa

    March 25, 2019, 5:16 p.m.

    यहाँ मैले नबुझेको कुरा उमेरको हदबन्दी कतिसम्म हो ? कति उमेर सम्मकाले जान पाउने हुन /

तपाईको प्रतिक्रिया