कतारकाे दाेहामा नेपाली नागरिकमाथि सा‌ंघातिक आक्रमण, एक जनाकाे ज्यान गयाे, ५ घाइते

 साउन २९, २०७६ बुधबार २१:०:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – मंगलबार साँझ कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा भएको सांघातिक आक्रमणमा परि एक जना नेपालीको ज्यान गएको छ । साथै आक्रमणमा परि ५ जना नेपाली नागरिक घाइते भएको दोहामा रहेको नेपाली राजदूतावासले जनाएको छ ।

आक्रमणमा परि सुनसरी घर भएका तबरेज अन्सारीको ज्यान गएको राजदूतावासले जनाएको छ । अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको राजदूतावासले जानकारी दिएको छ । नेपाली नागरिकमाथि किन र कसले आक्रमण गर्यो भन्ने कुरा दूतावासले केही जानकारी दिएको छैन ।

त्यस्तै आक्रमणमा परि घाइते भएका मध्ये गम्भीर अवस्थामा रहेका उमर अन्सारीको हमाद अस्पतालकै आईसीयूमै उपचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अवस्थामा उपचाररत रहेको दूतावासले जनाएको छ ।

त्यस्तै घटनामा घाइते भई प्रहरीको नियन्त्रणमा रहेका अकबर मिया र महसुद अन्सारी नेपाली राजदूतावासको टोलीको पहलमा रिहा हुनु भएको छ । घाइतेहरु सबै सुनसरीका बासिन्दा रहेको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

मृतक र घाइतेहरुको विस्तृत विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ । त्यस घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

यस प्रकारका घटनालाई मध्यनजर गर्दै दूतावासले अनावश्यक भिडभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आग्रह गरेको छ । त्यस्ता ठाउँमा जानै पर्ने भएमा सतर्कता अपनाउनसमेत दूतावासले आग्रह गरेको छ ।

दूतावासकाे विज्ञप्ति

 

1 Comments

  • Bishnu dhakal

    Aug. 15, 2019, 10:41 a.m.

    हत्यामा संलग्न भएकालाई मृत्युदण्ड दिनुपर्छ, ता कि आउने दिनमा यस्ता घटना दोहोरिने छैनन् , साथै परिवारले ब्लड मनिको माग गरेतापनि सम्पूर्ण कतारवासी नेपालीले पैसा जम्मा गरि परिवारमा पुर्याउनेछौं र कुनै हालातमा कतारको कानून अनुसार मृत्युदण्ड माग गर्नुपर्छ / यो दु:खको घडीमा परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस्, हार्दिक श्रद्धाञ्जली !!

तपाईको प्रतिक्रिया