‘चिनियाँ बोस’लाई अन्तु घुमाउन मन छ

 बैशाख २०, २०७८ सोमबार १४:३०:० | मेरो कथा मेरो भोगाई
unn.prixa.net

दिनेश आलेमगर/इलाम

कुनै समय म पनि परदेशी थिएँ । तर अहिले व्यवसायी बनेको छु । मेरा दुई वटा घर छन् । एउटा घर मिलेसिया जानु भन्दा अगाडिको । अर्को मलेसियामा सात वर्ष बिताएर नेपाल फर्केपछि बनाएको । यी दुवै घरमा होमस्टे चलाउँदै आएको छु मैले । जसमा अहिले नन्एटेज तीन र एटेज तीन गरी ६ वटा कोठा छन् । 

दुई वर्ष पहिले नेपाल फर्कने बेला मेरो तलब ६५ हजार रुपैयाँ थियो । कमाई राम्रो भए पनि अझै विदेशमा बसाैँ भन्ने लागेन मनमा । नेपाल गएर होमस्टे व्यवसायमै भविष्य खोज्छु भनेर नेपाल आएँ । साँच्चै भन्नुपर्दा, विदेशमा नेपालमा भन्दा धेरै मेहनत गर्नु पर्ने रहेछ भन्ने कुरा मलाई त्यहाँ गएपछि मात्रै थाहा भएको हो । बढी मेहनत गर्दा गर्दै पनि गाली खानु पर्ने ! मलाई ठीक लागेन विदेश । 

त्यहाँ कम्पनीको बोसले गाली गरेको बेला नेपालको बढी याद आउँथ्यो । चिनियाँ बोसहरुले गाली गर्दा कहिलेकाहीँ त रुन मन लाग्थ्यो । तर पनि सहेरै काम गरेँ । अब त म जिन्दगीमा कहिल्यै विदेश जान्न । मसँगै काम गर्ने साथीहरु अझै विदेशमा नै छन् । साथीहरु र बोसले आइज भनेर कत्ति बोलाउँछन् तर म जान्न ।

गाली गर्ने चिनियाँ बोस चोङ्गले मलाई कम्पनीमा काम गर्न आउ भन्नुहुन्छ । तर म भने तपाईं बरु नेपाल घुम्न आउनुस् भनेर हाँसेरै टारिदिन्छु । 

यदि मेरो बोस यहाँ आइहाले भने पनि म उहाँलाई नेपालीहरु खानै नपाएर विदेश गएका हुँदैनन् भन्ने कुरा देखाउन चाहन्छु । नेपालमा पैसा देख्नै नपाएर परदेशिएका हुँदैनन् । नेपालमा झन् विदेशको भन्दा कम मेहनतमा त्यहाँको भन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा देखाउन चाहन्छु । 

हामीहरु मलेसिया नगएर, गाउँघरमा रमाउँदै कमाएर पनि पैसा खेलाएर बस्न सक्छौं भन्ने कुरा पनि देखाउन मन छ । नेपालमा गर्नेलाई प्रशस्त सम्भावना छ भन्ने सन्देश दिएर, श्रीअन्तु घुमाएर पठाउन मन छ बोसलाई । 

अहिले पनि मेरो होमस्टेमा पर्यटकहरुको घुइँचो लागिरहन्छ । सबै भन्दा धेरै खुसी त नेपालका चर्चित  व्यक्तिसँगको भेटघाटले दिन्छ । चलचित्र झिल्काेको सुटिङ्गमा नायिका झरना थापा पनि आउनुभएकाे थियाे । उहाँ मेरै घरमा बस्नुभयो ।

यस्तै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख सोमनाथ बास्तोला परिवारसहित, गायक रोशन गुरुङ्ग, निलिमा चौहान, दिलिप रायमाझी जस्ता चर्चित व्यक्तित्व आएर बस्दाको खुसी म कसरी बयान गरुँ ? अनि यति खुसी नेपालमा, आफ्नै गाउँठाउँमा मिल्छ भने म किन विदेश जाने ?

 


तपाईको प्रतिक्रिया