'देशमा रोजगारी नपाएर विदेश हानिएको बेरोजगार युवालाई अरबको गर्मीले पोल्दैन'

 जेठ २८, २०७८ शुक्रबार १३:५५:४० | नारायण कोइराला
unn.prixa.net

अरबको गर्मीबारे धेरै सुनिन्छ । बेला बेला त यही गर्मीले पैसा कमाउन आएका नेपालीको ज्यान लिएको समाचार पनि सुनिन्छ । यस्तो सुन्दा लाग्छ अरबमा गर्मी मात्र हुन्छ ।

मलाई पनि नेपालमा छँदा त्यस्तै लाग्थ्यो । गर्मीमा मानिस कसरी बस्छन्, गर्मीमा कसरी काम गर्छन्, के अरबमा हावा चल्दैन ? त्यो बेला मेरो मनमा भएको जस्तै जिज्ञासा अहिले तपाईँको मनमा पनि होला । 

तर अरबमा बस्नेहरूका लागि त गर्मी सामान्य कुरा हो । तर हाम्रो गाउँघरमा चिसो हावामा बस्नेहरूका लागि यहाँको गर्मी कल्पना गर्दा मात्र तातो हुन्छ । यही तातोमा सुन्दर भविष्यको कल्पना गर्दै पसिना बगाइरहेको आफन्तको मायाले पिर चिन्ता हुन्छ । 

हो यहाँ बर्खे झरी लाग्दैन । न त यहाँ बर्खा लाग्छ ।  यहाँ त तातो हावामा तातै बालुवा उड्छ ।

पानी परेर केही राहत होला भन्ने आस पनि हुँदैन । कहिले काहीँ झुक्किएर पानी पर्छ । तर कामको लागि भने सधैँ बर्खा नै लाग्ने गर्छ । यहाँ अब बर्खा सकियो हिउँद आउँछ भन्ने हुँदैन । कामको राप र ताप उस्तै हुन्छ ।

तर यही रापमा यस्ता काम पनि छन् जुन काम गर्दा गर्मी भयो भनेर आत्तिन पर्दैन । काम गर्दा गर्मीको अनुभव पनि हुँदैन । अरबमा यस्तो काम गर्ने दाजुभाइ दिदीबहिनी धेरै हुनुहुन्छ ।       

  घरेलु कामदारदेखि  ठूला अफिसमा ठूलो पदमा काम गर्ने नेपालीहरू छन् यो अरबमा । जहाँ कहिले पनि गर्मीको अनुभव गर्न पर्दैन । होटल, रेस्टुरेन्ट कफिसप, सुपर मार्केटदेखि किराना पसलसम्म एसी हुन्छ । जहाँ काम गर्दा गर्मीको अनुभव गर्न पर्दैन ।

हाम्रो देशमा लोडसेडिङ मुक्त भयो भने पनि झ्याप्प झ्याप्प बिजुली गइरहन्छ । त्यसैले पनि कतिपयले सोध्नुहुन्छ नेपालमा जस्तो बत्ती जाने हो भने कसरी बाँच्नु, के त्यहाँ कहिले पनि बत्ती जाँदैन । हो यहाँ कुनै पनि याममा बत्ती नभएर तड्पनु पर्दैन । अरबको सहर २४ सैं घण्टा झिलिमिली हुन्छ । यहाँ हरेक कुरा व्यवस्थित भएर होला निमेषभर पनि अँध्यारो भोग्न पर्दैन ।

अरबमै भए पनि गर्मीमा बाहिर काम गर्नु नपर्नेहरूको जीवन राम्रो छ ।  

कामको तनाव त हरेक व्यक्तिको लागि आफ्नो ठाउँमा हुन्छ नै । गर्मी नहुने ठाउँमा काम गर्न पाउनु एउटा सौभाग्य हो । शिरदेखि पाउसम्म पसिना बगाउन त पर्दैन । तर पनि साथीभाइको गुनासो हुन्छ चिसो एसीले शरीर गलायो । चिसोकै कारण बिमार पनि बढ्दै छ । गर्मी भए पनि पसिना बगाउँदै काम गर्दाको फाइदा पनि छन् ।

शरीर स्वस्थ हुन्छ । पसिना बग्नु शरीरको लागि राम्रो हो । तर पनि मानवीय स्वभाव हो । आफूसँग भएको कुरामा हामीलाई चित्त बुझ्दैन । 

फेरि आउटडोर काम गर्नेहरूको पनि आफ्नै भनाइ छ । जसले गर्मी देख्दैन किन बोल्नु परेको होला । गर्मी के हो तातो घाममा काम गर्नेलाई मात्र थाहा हुन्छ । हामी कामदारले यहाँ गर्ने कुराकानी यस्तै नै हो ।

आफ्ना श्रमिकलाई गर्मीबाट बचाउन कम्पनी र सरकारले पनि प्रयास त गरेकै हुन्छ । तर पनि यहाँ भनेजस्तो र सोचेजस्तो सजिलो चाहिँ छैन । मौसमलाई च्यालेन्ज गर्ने अचुक उपाय सायद यहाँ केही छैन । 

तर नेपालीहरूलाई बाध्यता छ । गर्मी भए पनि, चिसो एसीमा काम परे पनि गर्नुपर्छ । देशमा रोजगारी नपाएर विदेश हानिएको एउटा बेरोजगार युवालाई सायद यहाँको गर्मीले पनि पोल्दैन ।

 

तपाईको प्रतिक्रिया