परदेशमा बालापनको याद

 साउन २९, २०७८ शुक्रबार १६:१:२४ | मेरो कथा मेरो भोगाई
unn.prixa.net

रमेश क्षेत्री / पोखरा, हाल सिसेल्स

परदेशमा रहेर घरदेशको सम्झना गर्दा एकफेर त आफू गाउँघर डुलेर आइपुगिन्छ । म अहिले उत्तर अफ्रिकाको सिसेल्स भन्ने देशमा कार्यरत छु तर मेरो मन कहिलेकाहीँ बिना जहाज पोखराका कुना कन्दरा चहार्न गइजान्छ । 

साउन भदौको महिना । गाउँघरमा रोपाइ सकिसकेको होला । नत्र बर्खामा हलोजुवा काँधमा राखेर खेतमा जानको रमाइलो नै बेग्लै हुन्थ्यो । उकाली ओराली गाउँ बेंसी आहा कति रमाइलो । खोलानालाको छँगछँग आवाजसँगै बेसींभरि खेतमा लहलह हरियाली धान, साँच्चिकै निकै सुन्दर र रमाइलो देखिन्थ्यो ।

त्यो बेलाको सम्झना, म सानो हुँदा बर्खे बिदामा मामा घर गएको धेरै याद आउँछ । झण्डै दुई महिनाको लामो स्कुल बिदामा म मामा घरमा नै रमाउने गर्थेँ । अहिले ती कुरा सम्झिँदा पनि साँच्चिकै मैले त्यति रमाइलो गरेको थिएँ है भन्ने लाग्छ ।

स्कुल बिदा भएपछि गोठालो जान्थ्यौँ । साथीभाइहरु भेला हुन्थ्यौँ । सबैले आ–आफ्नै वस्तु भाउ लिएर एकै ठाउँमा चराउन लगिन्थ्यो । खहरे खोलाहरुमा बाँध बाँधेर सानो पोखरी बनाउँथ्यौ र त्यसैमा साथीहरु सबै पौडी खेल्थ्यौँ । हामीले पौडी नखेलेको बेला बस्तुभाउ आहाल खेल्थे ।

यस्तै रुखको हाँगा काटेर त्यसमा साथीलाई बस्न लगाएर अर्कोले तान्थ्यो । गाडीमा हुइँकिएझैँ लाग्थ्यो । त्यसलाई हामीले सेउली झार खेल्ने भन्थ्यौँ । बेलुकी भएपछि सबैजना आ–आफ्ना बस्तुभाउ लिएर आ आफ्नो घरतिर फर्किन्थ्यौँ ।

प्रत्येक दिन बिहानको खानापछि हाम्रो दैनिकी यसैगरी सुरु हुन्थ्यो । भोलि के गर्ने, बस्तुभाउलाई चराउन कहाँ लिने भनेर अघिल्लो दिन नै छलफल गर्थ्याैँ । कति रमाइला थिए ती दिन ।

बाल्यकालका ती साथी । कतिले त भुली सके होलान् । अब ती दिन फेरि फर्केर त आउँदैनन् तर पनि सोच्न मन लाग्छ, यदि आयो भने खेल्न साथीभाइ होलान् कि नहोलान् । त्यो चौर जहाँ हामी उफ्रिँदै नाच्थ्यौँ होला कि नहोला ? खोलामा पानी पहिलेको जस्तै सफा होला कि दुर्गन्धित भइसकेको होला ?

परदेशमा छु । यहाँ पनि मौसमले रंग बदल्छ । अहिले यहाँ पनि झरि परिरहेको छ । बर्खा लागेपछि उही पुरानो दिनको झल्को आइरहन्छ, गाउँपाखाले सताइरहन्छ ।

यस्तै देशको अवस्थाले पनि मन दुखेर आउँछ । राजनीतिक अस्थिरता, हानथाप, भ्रष्ट्राचार, बलात्कारका घटना सुन्दा दिक्क लागेर आउँछ । अहिले कोरोना महामारी छ । नेपाल सरकारले आफ्ना नागरिकलाई खोप लगाउन सकिरहेको छैन भन्ने खबरले दुःख लाग्छ । विदेश जाने श्रमिकहरु खोप लगाउनकै लागि दिनभरिको घाममा लाइनमा उभिनुपर्ने अवस्था छ ।

कोरोना भ्याक्सिन लगाउनकै लागि पनि यस्तो समस्या । म जस्ता हजारौँ परदेशीलाई आफ्नो देशका यस्तै यस्तै घटनाले निराश बनाइरहन्छ । सधैँ परदेशमै कति समय बिताउनुपर्ने हो भन्ने पीरले सताइरहन्छ । 
 

1 Comments

तपाईको प्रतिक्रिया