खाडीमा नेपाली श्रमिक : ‘राेजगारी चलिरहोस् , जहाज उडिरहोस्’

 मंसिर १७, २०७८ शुक्रबार १७:१३:४९ | नारायण कोइराला
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काेराेना कहरपछि अवस्था सामान्य हुँदै गर्दा अब त घर आउन-जान सजिलाे हुने भयाे भनेर परदेशमा रहेका नेपालीहरुमा खुसियाली छाउँदै थियो ।

विमानस्थलमा पनि घर फर्कनेहरुकाे भिड लाग्न थालेकाे थियो । लामो समयको अन्तरालपछि आफ्नाे परिवारलाई भेट्न पाउनु खाडीमा कार्यरत नेपालीहरुको लागि सौभाग्यको कुरा थियो । निकै कठिन समयपछि धेरैले आफ्नाे परिवारलाई भेट्न पाए । कतिपय त सकुशल घरसम्मकाे यात्रा गरी फर्किसकेका पनि छन् ।​

काेराेना सुरु हुँदाकाे बेला जुन महँगो टिकट थियाे, त्याे अहिले सामान्य मूल्यमा झरी सकेको छ ।  यही माैकामा धेरै श्रमिक खाडीबाट घर फर्के । वर्षाैँदेखि मनमा साँचेकाे परिवारलाई भेट्ने चाहना पूरा गरे । फेरि आफ्नै कर्मभूमिमा फर्के ।

यस्तै अझै पनि कतिपय नेपाली दाजुभाइ घर जान पाउनुभएकाे छैन । उहाँकाे मनमा पनि छाेराछाेरी, घर-परिवारसँग भेट्ने आशाले गुँड बनाइसकेकाे छ । तर याे आशाकाे गुँडलाई कोरोनाकाे नयाँ भेरियन्ट ओमिक्रोनले कत्तिको असर गर्छ त्यो हेर्न त बाँकी नै छ ।

यस्तै पछिल्लाे समय फेरि नेपाली श्रमिकहरुमा डर बढेको अवस्था छ । हुन त यस भेरियन्टका एक-दुईवटा भन्दा बढी सङ्क्रमित देखिएका छैनन् खाडीमा । तर यसको असर कतिसम्म पर्छ भन्ने कुराको चिन्ता हुने नै भयो । यसै पनि पहिलेको अवस्था देख्दा डराउनु स्वभाविक पनि हो । 

खाडी देशको अवस्था अहिले पनि चिन्ताजनक नै छ । विभिन्न देशबाट भिजिट भिसा खुलेको मौका पारी भिजिटमा कामको लागि आउनेको सङ्ख्या पनि लाखौं पुगिसकेको छ । यो अवस्थामा मजदुरी गर्नेहरुको कमी छैन । यो परिस्थितिमा अलिकति तलमाथि भयो भने पुराना श्रमिककाे राेजगारी गुम्ने अवस्था छ । कम्पनीलाई काम चाहिन्छ । उसको परिवार वर्षौंको मिहिनेतसँग कुनै सरोकार भएको देखिन्न । कागजी कुराहरू जस्तो भए पनि वास्तविकताको बोझ श्रमिकलाई नै छ ।

समयले पटक पटक सबैलाई कष्ट दिए पनि श्रमिकहरुको कष्ट अलि फरक र दुःखदायी छ । एकातिर घरपरिवारको बिछोड अर्को तिर कम्पनीमा कामको दबाब । यस्तै नयाँ काेराेना भेरियन्ट ओमिक्रोनले दिने मानसिक दबाबलाई कसरी झेल्ने भन्ने अवस्था आएको छ । हुन त देशको अवस्था र परदेशको अवस्था हेर्दा परदेश नै सुरक्षित देखिन्छ । तर सुरक्षित छ भनेर मात्र भएन । परिवारको बिछोड त सताइ नै रहन्छ । यस्तो अवस्थामा आफ्नो मन सम्हालेर बस्नुको विकल्प नै हुँदैन ।

मरुभूमिकाे रापिलाे घाममा जल्दै गरेको मजदुरको अवस्था यस्तै हो भनेर कहिले सम्म चित्त बुझाउने। ओमिक्राेनले हामीलाई आक्रमण नगरोस्, अहिले जस्तै सामान्य अवस्था रहोस् भन्ने चाहना सबैको छ । यही अवस्था रह्यो भने राेजगारी पनि चलिहरनेछ । जहाज पनि उडिरहनेछ ।

तपाईको प्रतिक्रिया