८ महिनादेखि साउदीमा अलपत्र परेका गुल्मीका जगतको सामीद्वारा उद्धार

 असोज ५, २०७९ बुधबार २०:२५:५० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा सञ्चालित सुरक्षित आप्रावासन कार्यक्रम (सामीले) गएकाे आठ महिनादेखि साउदीमा अलपत्र परेका रेसुङ्गा नगरपालिका ८ का जगतबहादुर सुनारको उद्धार गरेको छ । 

गएकाे साउन १५ गते जगतकी श्रीमती सुनिता सुनारले सदरमुकाम तम्घासमा रहेकाे सामी कार्यक्रमको कार्यालयमा गएर आफ्ना श्रीमान् साउदीमा अलपत्र परेको र उहाँलाई स्वदेश ल्याइदिन आग्रह गर्दै निवेदन दिनुभएको थियो ।

रोजगारीका लागि दुई वर्षको भिसामा साउदी गएका जगतले त्यहाँ रहँदा पूरै अवधिसम्म काम गर्नुभएको थियो । भिसा सकिएपछि कम्पनीले जगतलाई अर्को काममा लगाइदिने आश्वासन दिएको भए पनि पनि चासो नदिएपछि आफू अलपत्र परेको जगतले बताउनुभयो । कामको आशामा जगतले दिन कुर्दै बसेकाे तर काम नपाएर अलपत्र पारेपछि आफूलाई खान र बस्न ठूलो समस्या परेको उहाँले सुनाउनुभयो ।  

रेसुङ्गा नगरपालिकाले वैदेशिक रोजगारीमा जानुअघि सीप सिकेर जानका लागि आग्रह गरेको नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनुभयो । उहाँले स्वदेशमै बसेर काम गर्ने वातावरण सिर्जना गर्न नगरपालिकाले युवा तथा रोजगार लक्षित कार्यक्रमहरू अगाडि बढाएको पनि बताउनुभयो । वैदेशिक राेजगारीका क्रममा समस्या भोगिरहेका नागरिकको उद्धारका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँले बताउनुभयो । 

सामी कार्यक्रम परामर्शकर्ता शिव भण्डारीले अलपत्र परेको निवेदन आउनासाथ वैदेशिक रोजगार विभागको सहयोगमा सुनारले काम गर्ने कम्पनीसँग समन्वय गरेर स्वदेश पर्काउन सफल भएको जानकारी दिनुभयो । सामीले वैदेशिक रोजगारीमा जानेहरूलाई परामर्श दिँदै आएको छ । वैदेशिक रोजगारीमा लैजाने भन्दै आफूहरूलाई अलपत्र पारेको भन्दै पाँच जनाले निवेदन दिएका सामीले जनाएकाे छ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया