अभिमुखीकरण व्यवसायीले बेवास्ता गरे विभागको अनुगमन, कारबाही गर्ने चेतावनी

 असोज १३, २०७९ बिहिबार १७:८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  वैदेशिक रोजगारीमा जानेलाई अभिमुखीकरण तालिम प्रदान गर्ने व्यवसायीले अनलाइन अनुगमनलाई प्रभावित पारेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागले आधिकारिक नम्बरबाट फोन, भाइबर कल र ह्वाटसएपबाट समेत तालिम सञ्चालकहरूलाई कक्षा सञ्चालनको दृश्य अवलोकन गराउन अनुरोध गरे पनि विभिन्न बहाना बनाउने र फोन नउठाउने जस्ता कार्य गरी अनलाइन अनुगमनलाई प्रभावित पार्ने र बेवास्ता गर्ने गरेको भन्दै फेरि पनि यस्तो कार्य गरेमा कारबाही गर्ने विज्ञप्ति जारी गरेको छ ।

विभागले प्रत्यक्ष र अन्य विभिन्न माध्यमबाट समेत अनुगमन गर्ने भन्दै विभागबाट भएका सबै खाले अनुगमनलाई अभिमुखीकरण तालिम सञ्चालकले सघाउन पर्ने र त्यसो नगरेमा कारबाही हुने उल्लेख छ । विभागले अनुगमनलाई प्रभावित पार्ने वा बेवास्ता गर्ने सञ्चालकहरूलाई अभिमुखीकरण तालिम  सञ्चालन कार्यविधि २०७६ अनुसार कारबाही गर्छ । 

नेपालबाट वैदेशिक रोजगारीमा जानेहरूले नयाँ श्रम स्वीकृति लिएर जाँदा अनिवार्य रूपमा दुई दिनको अभिमुखीकरण तालिम लिन पर्छ । तर अभिमुखीकरण तालिम प्रभावकारी नभएको भन्दै आलोचना हुने गरेको छ । 

तपाईको प्रतिक्रिया