वैदेशिक रोजगारीमा पोर्चुगल र अमेरिका पठाइदने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ

 मंसिर १२, २०७९ सोमबार १७:२६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा पोर्चुगल र अमेरिका पठाइदने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आकर्षक रोजगारीको प्रलोभन देखाएर पोर्चुगल पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट २१ लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेकी सर्लाहीकी ३० वर्षीया धनकुमारी ओलीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ललितपुर सातदोबाटोबाट हिजो पक्राउ गरेको हो । उनले होटलमा महिनाको एकदेखि डेढ लाख रुपैयाँ कमाइ हुने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ ।

यस्तै रोजगारीकै लागि अमेरिका पठाउने भन्दै १४ लाख ७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन बनेका रामेछाप घर भइ ललितपुर बस्दै आएका ३४ वर्षीय योगेशराज श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनले अमेरिका जान २५ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै लाखाैँ रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ । 

यी दुवै जनाको विरुद्ध वैदेशिक रोजगार विभागमा ठगीको उजुरी परेपछि विभागले पक्राउ गर्नको लागि काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको हो ।

पछिल्लो समय वैदेशिक रोजगारीको लागि पोर्चुगल लगायत युरोपेली देश र अमेरिकामा पठाइदिने भन्दै ठगी गर्ने क्रम बढेको छ । यसरी कसैको प्रलोभन र विश्वासमा परेर पैसा नदिन विभागले पटक पटक आग्रह गर्दै आएको छ ।
 

तपाईको प्रतिक्रिया