विश्वकप तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारको स्वीकार

 मंसिर १४, २०७९ बुधबार ११:४६:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफा विश्वकप फुटबलको तयारीमा चार सयदेखि पाँच सय कामदारको ज्यान गएको कतारले स्वीकार गरेको छ । ज्यान गुमाउनेहरु विभिन्न देशबाट रोजगारीका लागि कतार पुगेका मजदुरहरु हुन् ।

कतारले श्रमिकको मृत्युको संख्या तोकेरै सार्वजनिक गरेको यो पहिलो पटक हो । अङ्ग्रेजी पत्रिका ‘बिजनेश स्ट्यान्डर्ड’मा प्रकाशित समाचारका अनुसार कतारका शीर्ष नेता हसन अल थावादीले बेलायती पत्रकार पियर्स मोर्गनलाई दिएको अन्तरवार्तामा यो संख्यात्मक मृत्युको स्वीकार गर्नुभएको हो ।

‘यो सङ्ख्या चार सयदेखि पाँच सयको बीचमा छ,‘उहाँले भन्नुभयो,‘मसँग यकिन सङ्ख्या छैन, तर एक जनाले ज्यान गुमाउनु पनि धेरै दु:खद पक्ष हो ।’

थावाडीका अनुसार ज्यान गुमाएकाहरु विश्वकपका लागि मैदान, सडक, होटललगायतका पूर्वाधार निर्माणमा संलग्न थिए । यसअघि कतारले विश्वकपको तयारीका क्रममा ज्यान गुमाउनेको संख्या धेरैमा ३७ देखि ४० सम्म रहेको दाबी  गर्दै आएको थियो ।

कतारले १२ वर्षअघि विश्वकप आयोजनाको जिम्मेवारी पाएको थियो । विश्वकप फुटबल आयोजना गर्ने कतार पहिलो खाडी देश हो । कतारमा अहिले पनि ४ लाख नेपाली कार्यरत रहेको अनुमान छ । उनीहरु रंगशाला निर्माणका लागि खटिएका थिए ।

विश्वकपका लागि कतारले ८ वटा रंगशाला निर्माण गरेको छ । रंगशाला तथा यससँग जोडिएका निर्माणमा नेपाललगायत भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका गरी ५ वटा दक्षिण एसियाली देशका ६ हजार ५ सयभन्दा धेरै श्रमिकले ज्यान गुमाएको तथ्याङ्क यसअघि विभिन्न निकायबाट सार्वजनिक गरिएको छ ।

जुन कतार सरकारले दाबी गरेको संख्या भन्दा निक्कै धेरै छ । गएको मंसिर ४ गतेदेखि कतारमा सुरु भएको २२ औँ संस्करणको प्रतियोगितामा ३२ देश सहभागी छन् । 
 

तपाईको प्रतिक्रिया