कतारमा रहेका नेपाली व्यवसायीलाई वैदेशिक राेजगार विभागले परिचयपत्र दिने

 मंसिर १६, २०७९ शुक्रबार १७:४३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कतारमा रहेका नेपाली व्यवसायीलाई वैदेशिक राेजगार विभागले परिचयपत्र दिने भएकाे छ । वैदेशिक रोजगार विभाग, वैदेशिक राेजगार बोर्ड र नेपाल व्यवसायी संघ कतारबीच भएकाे त्रिपक्षीय समझदारी पत्रमा यसबारे उल्लेख गरिएकाे छ ।

आज श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएकाे एक कार्यक्रमबीच त्रीपक्षीय समझदारी भएकाे हाे । श्रम स्वीकृति लिइ कतार गएका र व्यवसायी संघ कतार शाखासँग आबद्ध रहेका नेपाली व्यवसायीहरु र प्रवासी नेपाली कामदारहरुको राहत, उद्धार, स्वदेश फिर्ता तथा पुन: एकीकरणका लागि सहकार्य गर्ने उद्देश्यले पत्रमा हस्ताक्षर गरिएको मन्त्रालयले जनाएकाे छ ।

नेपालबाट श्रम स्वीकृति लिई गएका र कतारमा प्रवासी व्यवसायीका रुपमा रहेका नेपालीहरुको आवतजावतका केही असहज प्रकृया अन्त्य गरी विभागबाट परिचयपत्र प्रदान गर्ने र नेपाली कामदारहरुको उद्धार, राहत, स्वदेश फिर्ती तथा पुन: एकीकरणका लागि तीनै पक्षले सहकार्य गर्ने विषयमा हस्ताक्षर गरिएको हाे ।

सझदारी पत्रमा वैदेशिक रोजगार विभागका तर्फबाट महानिर्देशक उमाकान्त आचार्य, बोर्डको तर्फबाट निर्देशक मैया कडेल र नेपाल व्यवसायी संघ कतारका तर्फबाट संघका अध्यक्ष महेन्द्र चौलागाईँले हस्ताक्षर गर्नुभएको छ । 

हस्ताक्षर गरेको समझदारी पत्रको समय दुई वर्षको हुनेछ । साथै तिनै पक्षको सहमतिका आधारमा समय सीमा थप गर्न सकिने कुरा पनि पत्रमा उल्लेख गरिएको छ । त्यस्तै समझदारी पत्रमा उल्लेख गरिएका कुरालाई समय अनुसार संशोधन वा परिमार्जन गर्नु परेमा तिनै पक्षको समझदारीको आधारमा अगाडी बढाउने सहमति भएको छ । पत्रमा तिनै पक्षले आ आफ्नो क्षेत्रबाट गर्नुपर्ने कामलाई स्पष्ट उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया