नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्न सक्नुपर्छ : मन्त्री कुँवर

 मंसिर १८, २०७९ आइतबार १४:१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताउनुभएको छ । 

आज आइतवार नेपाल एफएम नेटवर्कको १९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताउनुभएको हो । उहाँले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसाय खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ । जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकको आकर्षण पनि छैन । मजदुरको अवस्था हेर्दा विदेशी धेरै छन् । हामी खाडीमा गइरहेका छौँ । हाम्रा श्रमिकलाई हाम्रै देशमा बस्ने वातावरण कसरी सिर्जना गर्ने भन्ने बारेमा सोच्नुपर्छ । झन्डै नेपालको आधा जनसङ्ख्या विदेशिक श्रममा गएको छ । यसलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल गर्न आवश्यक छ ।’

मन्त्री कुँवरले गएको आर्थिक वर्षमा मात्रै छ लाख ३० जना नेपाली श्रम स्वीकृति लिएर विदेश गएको तथ्याङ्क रहेको बताउनुभयो । उहाँले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गर्नुभयो । नेपालको कुल जनसङ्ख्यामध्ये झन्डै आधा जनसङ्ख्या विदेशमा रोजगारीका लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको उहाँको भनाइ छ । 

मन्त्री कुँवरले श्रम मन्त्रालयले विदेशबाट फर्किएकाहरूका लागि पुनः एकीकरणको कार्यक्रम ल्याएको भन्दै यसलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउन सके १० लाख जनासम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी गर्नुभयो । मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया